Odapalika - The Fourth Estate - चौथो अंग
सडक विस्तारमा सहयोग गर्न शुक्लागण्डकीका मेयरको आग्रह 

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको सडक विस्तारमा सहयोग गर्न पालिकाबासीलाई आग्रह गरेको छ । 

राजमार्गसँग जोडिएका घर लगाएका संरचना नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोग गर्न आग्रह गरेको हो ।

नगर प्रमुख कृष्णराज पण्डितद्वारा जारी विज्ञप्तिमा राजमार्गको निर्माण र स्तरोन्नतिका क्रममा सम्बन्धित निकायसँग स्थानीय बासिन्दाको पीरमर्काको सम्बोधन गर्ने कार्यमा नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख छ ।

राजमार्गको स्तरोन्नति हुने क्षेत्रभित्र पर्ने संरचनाको मूल्याङ्कित प्रतिस्थापन तथा क्षतिपूर्ति रकम प्राप्त गर्ने लाभग्राहीको विवरण सम्बन्धित वडा कार्यालयमा प्रेषित गरी तोकिए बमोजिमको प्रक्रिया प्रारम्भ भएको उल्लेख गरिएको छ ।

राजमार्ग सुधार चरण १ योजना अन्तर्गतको पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड स्तरोन्नतिका क्रममा नगरपालिका क्षेत्रभित्र पर्ने खण्डमा सडकको सतह निर्माणको कार्य भइरहेको छ ।

सो क्षेत्रमा मापदण्ड भित्र परेका संरचनाहरु निर्धारित मितिसम्म हटाएर क्षतिपूर्ति तथा प्रतिस्थापन रकम मागदाबी गरी सडकको स्तरोन्नति तथा विस्तार कार्यमा सहजीकरण गर्न उनले अपील गरेका छन् । 

पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुन)को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ । 

पश्चिम खण्डको भौतिक प्रगति १८ प्रतिशत पुगेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । 

२०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । पूर्वी खण्डमा भने ५१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।सडक केन्द्रबाट दायाँबायाँ २३ मिटरका दरले सडक बिस्तार भइरहेको छ ।

sadak1710999081.jpg

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update