Odapalika - The Fourth Estate - चौथो अंग
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ 

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो । प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ । मिहिनेतको फल (प्याज)ले ग्राहकको भान्छा नपाएपछि शेरबहादुरको घरमा निराशा छाएको छ ।

घरको भान्छा हुँदै पालिकाबासीलाई समेत तरकारी खुवाउने सपना देखेका शेरबहादुरले छिमेकीको अधियाँ जमिन थपेर पनि उत्पादन बढाए । 

हरेक वर्ष जमिनसँगै प्याजखेती थप्ने शेरबहादुरलाई उत्पादनमा भने कमी कहिल्यै भएको थिएन । पर्याप्त उत्पादन हुने बिक्री नहुने समस्याले कार्की हैरान छन् । 

यो सिजनमा पनि शेरबहादुरले २० क्विन्टलको हाराहारीमा प्याज फलाए । तर पैसा भन्दा प्याजको गन्धमात्रै हातलागेको छ उनलाई । ‘रातदिन मेहनत गरेर धेरै प्याज फलाइयो । बिक्री नभएपछि अहिले कुहिएर घर नै गनाइरहेको छ,’ उनी भन्छन् । 

शेरबहादुरका अनुसारका अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २५ रुपैयाँ प्रतिकेजी सम्ममा लिए । अब ९ क्विन्टल जति बाँकी छ । त्यो बिक्री नभएपछि कुहिन थालेको हो । 

राजुदेवी बिष्टको बारीमा यस वर्ष झण्डै पौने केजी बराबरको एकै दाना प्याज फल्यो । हिउँदभरको गोठेमल हाल्नुको परिणाम भन्दै धेरैले प्रशंसा पनि गरे । खेतभरि गहुँ लगाउने योजना रद्द गरी दशौँ क्विन्टल प्याज फलाउँदासमेत अहिले भोकमरीको जोखिम भएको छ ।

यसपटक विष्टको परिवारले करिब १७ क्विन्टल बराबर प्याज उत्पादन ग¥यो । डेढ क्विन्टल बिक्री भएको र २ क्विन्टल जति आफन्तलाई दिएकोबाहेक सबै प्याज थन्किएको छ । 

सुतारीगाउँमा कार्की र विष्टको जस्तै समस्या सबै गाउँलेको छ । पछिल्लो केही वर्षयता सबै किसान गहुँ छोडेर प्याज खेतीतर्फ आकर्षित भएपछि उत्पादन ह्वात्तै बढेको थियो । स्थानीय राजेश कार्कीका अनुसार सुतारीगाउँको माटो प्याजकै लागि मात्रै उपयुक्त रहेछ । अन्य खेती गर्दा यस्तो उत्पादन हुँदैन । गाउँलेले धेरै प्रकारको खेती गरे तर, प्याज मात्रै अत्यधिक फल्न थाल्यो । उनका अनुसार सुतारीगाउँमा ३५ परिवारले प्याजखेती गर्छन्  ।

खप्तडछान्ना गाउँपालिकाका कृषि शाखा प्रमुख गौरीशङ्कर रोकाया भने सुतारीगाउँको प्याजले बजार नपाएको बारे आफूलाई जानकारी नभएको बताए । प्याज बिक्री नभएको भए  कृषकको मागअनुसार बजारका लागि ढुवानी गर्न सक्ने उनको भनाइ छ । 

रोकायाका अनुसार कृषि शाखाले गाउँपालिकास्तरीय कृषक सञ्जाल गठन गरेको छ । कृषक र पालिकाको समन्वय बढाउन गठन गरिएको सञ्जालमा सबै गाउँबाट सदस्य छन् । सञ्जालका सदस्यले गाउँका कृषकका गतिबिधिबारे जानकारी दिन्छन् । तर प्याजको समस्यावारे कसैले नभनेको उनको भनाइ छ । 

कृषि ज्ञानकेन्द्रका बझाङका प्रमुख टेकबहादुर विष्टले भने खप्तड छान्नाको प्याज ढुवानी गर्न सडकले साथ नदिएको बताउँछन् । रासस
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update