
काठमाडौँ । यतिवेला देशभर विद्यालयस्तरीय परीक्षाहरु सञ्चालन भइरहेका छन् ।
स्थानीय तहको प्रत्यक्ष निगरानीमा लिइने यस्ता परीक्षामा नेपाल र भारतका नेताहरुलाई जोडेर प्रश्न सोध्नेदेखि एउटै प्रश्नपत्रमा असंख्य त्रुटीसम्म हुने गरेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई सरकारी तथा निजी विद्यालयको सुधार, व्यवस्थापन, शुल्क निर्धारण र अनुगमन गर्ने जिम्मा दिएको छ ।
यो जिम्मेवारी निर्वाहमा भने स्थानीय सरकारहरुले गम्भीर लापरवाही गर्ने गरेको पाइएको छ ।
जलजलेमा गुलेली आतंक
तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर ३ जलजलेमा रहेको शंकर माध्यमिक विद्यालयले कक्षा ६ को गणित विषयको प्रश्न वनाउँदा विद्यालयको नाम नै गल्ती लेखेको छ ।
र यो गल्तीसँगै एउटा प्रश्न भने गज्जवको छ । प्रश्न यस्तो छः
- प्रचण्डसँग भएका ५० ओटा गुलेलीमध्ये १९ वटा गुलेली केपीलाई दिए । प्रचण्डले बाँकीबाट फेरि ७ ओटा रवि र ५ ओटा उपेन्द्रलाई बाँडे, अन्त्यमा मोदीले प्रचण्डलाई १७ ओटा गुलेली थपिदिए । अब प्रचण्डसँग कतिवटा गुलेली बाँकी रहे होलान् । हिसाब गर्नुहोस् ।
नेता लक्षित प्रश्न यतिमा सिमित छैन । सोही प्रश्नपत्रमा बाबुराम र हिसिलाबीच सुन्तला बाँडफाँटको हिसाव पनि मिलाउन भनिएको छ ।
हेर्नुहोस् प्रश्नपत्र
नुवाकाेटकाे तारकेश्वर गाउँपालिकास्तरीय वार्षिक परीक्षा २०८० को कक्षा ६ को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षाको विषयको शुरुदेखि अन्तिमसम्मको सबै प्रश्न हुबहु छ ।
डडेल्धुराको परशुराम नगरपालिकाको कक्षा ४ को सामाजिक र कक्षा ५ को सामाजिक विषयको पनि एउटै प्रश्नपत्र सोधिएको पाइएको छ ।
उता मकवानपुरको मनहरी गाउँपालिकाले कक्षा ८ को नेपाली विषयको प्रश्नपत्रमा भने जताततै त्रुटी गरेको छ । प्रश्नपत्रमा ५० भन्दा बढी शव्द गल्ती छ ।
यो प्रश्न कति ठाउँमा बिगारिएको छ हिसाब गर्ने जिम्मा चाहीँ तपाईंलाई है !