Odapalika - The Fourth Estate - चौथो अंग
रातु नदीको अवैध उत्खननमा स्थानीय सरकारकै सहयोग !

महोत्तरी । बर्दिवास–६ का सोनीलाल महतो तस्करहरुले जेसिवी प्रयोग गरर सयौँ टिपरहरुमा रातु नदीको नदीजन्य पदार्थ उत्खनन् गरेको आवाजले रातभर निदाउन नसकेको गुनासो गर्छन् ।

घरवाट करिव २०० मिटरको दुरीमा राति ११ बजेपछि खोलामा आवाज आउन सुरु हुने र बिहान ४ बजेसम्म यो क्रम जारी रहने महतो बताउँछन् । 

‘टिपर र जेसिवी चलाउनेहरु रक्सी पिएका पनि हुन्छन् । चोरीको मात्र होइन, सुरक्षाको चुनौती पनि उत्तिकै छ स्थानीयलाई,’ उनी भन्छन् । 

विगत ३ दिन यता खोलाभर जेसिवी र वालुवा बोक्ने ट्रकमात्र देखिन थालेको उनको भनाइ छ ।  रातु उत्खनन्का कारण  महतोले धेरै कुरा गुमाएका छन् । 

‘नियमित बालीनाली हुने ठाँउ मरुभूमि बनेको छ । सिँचाई पूर्णरुपमा बन्द भएको छ । उत्खननले खोलाको सतह तल भासिदा नहरहरु भताभुंग भएका छन्,’ उनी भन्छन् । 

केही वर्षअघिको तुलनामा गाँउमा युवाहरु भेटिन छाडेका छन्  । कारणमा महतो भन्छन्, ‘खोला उत्खखन चरम भएपछि सिंचाइ अभावमा खेती मासियो । जसका कारण युवा पलायन वढ्यो ।’

गत २० फागुनमा सर्वोच्च अदालतले नदीजन्य पदार्थ तत्काल उत्खनन् रोक्न अल्पकालीन आदेश जारी गरेको थियो । तर  आदेशले उत्खनन् रोकिएन । ठेकेदारहरुले अवैध चोरी निकासीको वाटो अपनाएको स्थानीयवासीको गुनासो छ । 

स्थानीय अर्जुन कार्की पनि रातिको समयमा बालुवा तस्करी वढेको बताउँछन् । ‘हामीले नगर र प्रशासनलाई पनि भनेका छौँ तर रोकिएन । धेरैपटक जेसिबी र गाडीका चाबी पनि खोस्यौँ तर रोक्न सम्भव भइरहेको छैन,’ उनी भन्छन् । 

मिलोमतोको दाबी 

प्रशासन र नगरको मिलोमतोमा नै राष्ट्रिय सम्पत्तिको चोरी भइरहेको कार्कीको दाबी छ । ‘चोरी निकासीको बिषयमा नगर र प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि रोकिएन, मिलेमतो नभइ यस्तो काम सम्भव छैन,’ कार्की भन्छन् । 

महतो र कार्की मात्र हैन, गाँउका धेरैजनाको समस्या यस्तै छ । रातु खोलामा भइरहेको अबैध उत्खनन् भयावह रहेको स्थानीयहरू वताउँछन् । तस्करहरुले खोलावाट निकालेको पदार्थलाई खुलमखुल्ला किनारा वरपर नै भण्डारण गरिरहेका छन् भने नदीको तटबन्ध नै तोडेर चोर बाटो बनाएर ढुवानी गरिरहेका छन् । 

‘खोलामा बग्रेल्ती विकृति देखिन्छन तर स्थानीय सरकार र सरोकारवालाहरुले उल्टै पक्षपोषण गरेको देखिन्छ,’ वडा नं ७ का स्थानीय रामविलास महतोले भने, ‘अब बाँच्नै कठिन भयो । भएको जमिनमा पानि नलाग्दा मरुभूमि बनेको छ, वर्षा सुरु भएपछि मरिएला भन्ने पीर छ ।’

बर्दिवास नगरपालिकाले ठेक्का दिएका ठेक्केदार कम्पनीहरुले मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरेको ठहर गर्दै सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको थियो । 

उत्खनन् गर्न नपाएपछि ठेकेदारहरुले राति खोला उत्खनन् जारी राखेका छन् । वडा अध्यक्ष पदम आलेमगर पनि उनीहरुको भनाइमा सहमति जनाउदै उत्खनन्लाई गलत ढंगवाट पक्षपोषण भइरहेको बताउँछन् ।

वडा नं ९ का वडा अध्यक्ष आफै ठेकेदार हुन् । उक्त ठेक्कामा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समेत शेयर रहेको स्थानीयहरुको दाबी छ ।

सरोकारवाला मौन

पछिल्लो समय रातु नदीमा देखिएको तस्करीलाई लिएर सरोकारवालाहरु मौन देखिएका छन् । 

जिल्ला प्रहरी कार्यालय प्रमुख श्याम राईका अनुसार जिल्लामा अन्य गम्भीर घटनाहरुको अनुसन्धान भइरहेकाले अवैध उत्खनन्मा ध्यान जान नसकेको हुनसक्ने बताउँछन् । प्रहरी परिचालन गरेर अवैध उत्खनन् र तस्करीलाई रोक्ने प्रमुख राई बताउँछन् । 

नदीमा तस्करी भएको सुचना आइरहेको बताउँदै उनले प्रहरीहरुलाई जिम्मेवार वनाएर राष्ट्रिय सम्पत्ति जोगाउन लागि पर्ने प्रतिवद्धता जनाएपनि स्थानीयले भने प्रशासनलाई विश्वास गर्न सकेका छैनन् । 

‘पटकपटक सुचना दिदा पनि प्रहरीहरुले अटेर गरेको देख्दा शंका गर्न सकिने प्रसस्त ठाँउहरु देखिन्छ,’ स्थानीय भन्छन्,  अवैध उत्खनन् हुदै छ भनेर सुचना दिएपनि उल्टै संरक्षण गर्ने कार्य भइरहेको छ । 

जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्ण स्थानीय सरकारलाई वेथितिहरु औल्याएर जिम्मेवार वनाउने प्रयास गरिरहेको बताउँछन् । अवैध उत्खनन्विरुद्ध कानुनी उपचार खोज्ने बताउने उनी अदालतको आदेश पालनामा भने गम्भीर देखिएका छैनन् । 

यता स्थानीय सरकारका प्रतिनिधिहरु रातु नदीमा रातिको समयमा हुने तस्करीबारे अनविज्ञ रहेको बताउँछन् । नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले केही दिन अघि दिएको एउटा अन्तर्वार्तामा राष्ट्रिय गौरवको योजनाको लागि उत्खनन्  भइरहेको प्रस्टोक्ति दिएका थिए । अदालतमा दायर भएकोे रिट राजनीतिक प्रतिशोधका लागि भएको उनको जिकिर छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update