Odapalika - The Fourth Estate - चौथो अंग
सेवाग्राहीसँग घुस लिने सव–इन्जिनियर भागे, चेक र नगद लिएर फर्कियो अख्तियारको टोली

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको सामाजिक विकास इकाई कार्यालय राजविराजका सव–इन्जिनियरले सेवाग्राहीसँग लिएको घुस रकम र चेक नियन्त्रणमा लिएको छ । 

कार्यालयका सव–इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकले भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट टोली खटिएको थियो । उक्त टोलीले सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा साफीलाई नियन्त्रणमा लिने क्रममा उनी चेक र नगद फालेर भागेका थिए । 

घुल लिदालिदै रंगेहात पक्राउ गर्न गएको अख्तियारको टोली साफिले फोलेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँ बराबरको चेक लिएर फर्किएको थियो । 

सव–इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकले भवन निर्माण सम्बन्धी खाता रोक्का फुकुवा गर्नुपर्नेमा खाता फुकुवा नगरी खाता रोक्का फुकुवा गर्ने प्रयोजनका लागि १५ हजार रुपैयाँ र ५५ हजार रुपैयाँ घुस लिएका थिए । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० हजार कसुर कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई शुक्रबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update