Odapalika - The Fourth Estate - चौथो अंग
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो ।

पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए ।

उनले पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताए ।

‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्’, उनले भने, ‘अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ ।’

pashu1711102899.jpg

उनले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पु¥याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गरे । उनले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताए ।

‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौँ । यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ’, उनले भने ।

उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताइन् । उनले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम शुरु भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताए । उनले गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताए ।

छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका अगुवाहरु सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update