Odapalika - The Fourth Estate - चौथो अंग
माल्टाका १९५ घर खानेपानीको पहुँचमा 

ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नं २ माल्टाका १९५ घरधुरी खानेपानीको पहुँचमा जोडिएका छन् । 

पालिकाको ‘एक घर एक धारा’ अन्तर्गत ल्याटर डे, सेन्ट चारिटीज संस्थाको आर्थिक सहयोग तथा च्वाइस नेपालको व्यवस्थापनमा माल्टाका १९५ घरधुरीमा धारा जडान गरिएको हो ।

छहरे खोला, पधेरो खोला, चिसापानी खानेपानी योजना कुल १ करोड ५ लाखको लागतमा निर्माण सम्पन्न भएपछि यी घरमा धारा जडान भएका छन् । 

योजनामा ८८ लाख ३५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो भने ११ लाख ७० हजार रुपैयाँ बराबरको जनश्रमदान जुटेको थियो ।

प्रतिनिधि सभा सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, बागमती प्रदेश सभा सदस्य मीन कृष्ण महर्जन र च्वाइस नेपालका कार्यकारी प्रमुख प्रतिक शर्माले संयुक्त रूपमा एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गरे ।

घण्टौं लगाएर खानेपानीको जोहो गर्दै आएका बागमती गाउँपालिका–२ माल्टाका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । 

पहिले एउटा घरमा भएको धारामा पाँच परिवारले खानेपानी थापेर पानी ल्याउनुपर्ने अवस्था थियो । मिटरसहितको धारा जडान भएपछि अहिले त्यो समस्या हटेको छ । 

स्थानीय सोम तामाङले घरमा धारा जडान भएपछि करेसाबारीमा तरकारी लगाउन सजिलो भएको प्रतिकृया दिए ।

बागमती गाउँपालिकाका अन्य दुई वडामा पनि यो परियोजना अन्तिम चरणमा पुगेको च्वाइस नेपालका कार्यकारी प्रमुख प्रतिक शर्माले बताए । 

प्रतिनिधि सभा सदस्य उदयशमशेर राणाले आफ्नो क्षेत्रभित्र आएका विकास निर्माणका गतिविधिलाई सुरक्षा प्रदान गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै गैरसरकारी संस्था मार्फत आएका विकास पूर्वाधारका गतिविधि निर्धक्कताका साथ अगाडि बढाउन आग्रह गरे । 

कार्यक्रममा ल्याटर डे, सेन्ट च्यारिटीज संस्थाका प्रतिनिधि, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष भक्तबहादुर दर्लामी, वडाध्यक्षहरू ज्ञानबहादुर लो, नवराज खड्का, च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने, जिल्ला संयोजक सुकराम दुलाल लगायत उपस्थित थिए ।

बागमती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामबहादुर भोलुनको सभापतित्वमा सम्पन्न एक घर एक धारा हस्तान्तरण कार्यक्रम मा स्थानीय धामी झाँक्री नृत्य र पन्चेबाजा बजाएर अतिथिहरूलाई स्वागत गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update