Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरले गर्याे २ सहकारीको दर्ता खारेज

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । महानगरभित्र सञ्चालित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेज गरेका हो । 
महानगरपालिकाको शहकारी विभागले शुक्रबार एक सूचना जारी गर्दै महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार २ संस्थाहरुको दर्ता खारेजी गरिएको जनाएको छ । 
‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ ।
ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता, धितो राखी लिएको कर्जा, बचत गरेको रकम भए १५ दिनभित्र विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने महानगरको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update