
काठमाडौँ । टोखा नगरपालिकाले नगरभित्रब सोबास गर्ने विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मलाई उच्च रक्तचाप र मधुमेहको उपचारमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
नगरपालिकाले सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई जनही ५ हजार रुपैयाँ सहयोग गर्न लागिएको बताएका छन् ।
सार्वजनिक सूचनामा उनले औषधि सेवन गरेका बिरामीले नागरिकता, टोखा नगरपालिकाको स्थायी बासिन्दा भएको खुल्ने कागजात, चिकित्सकको ‘प्रेस्किप्सन’, औषधि खरिद गरेको बिल लिएर आएमा सहायता दिने उल्लेख गरेका छन् ।
टोखा नगरपालिकाले ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम अन्तरगत यो सुविधा दिन लागेको हो । नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण पनि ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रममार्फत जारी छ ।