Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद  

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्य तेज नारायण सिंह राईको संयुक्त इजलासले सोमबार पूर्वअध्यक्षसहित ५ जनायाई दोषी ठहर गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका २७ जनामध्ये अन्यले भने सफाइ पाएका छन् । 

ग्रामिण विद्युतीकरण परियोजनामा भ्रष्टाचार गरेको भन्दै २०७८ सालमै दायर सो मुद्दामा विशेष अदालतले खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई दोषी ठहर गरेको हो ।

खड्कालाई १ करोड ९९ लाख जरिमाना र ६ महिना कैद सजाय सुनाइएको छ । त्यसैगरी न्यौपाने र चौलागाईको एकमा जनही ३ महिना कैद र ६३ लाख रुपैयाँ जरिमाना ठहर भएको छ । 

तामाङ र लामाको हकमा जनही ३ महिना कैद र ३१ लाख रुपैयाँ जरिमाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले वडापालिकालाई जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update