Odapalika - The Fourth Estate - चौथो अंग
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । 

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रिय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए । उनले उम्मेदवारको नाम भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने जानकारी दिए । 

‘आजको हाम्रो पार्टी केन्द्रिय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने र बझाङमा प्रदेश सभाको निर्वाचनमा पनि उठाउने निर्णय भएको छ । व्यक्तिको बारेमा निर्णय गर्न सिफारिस आउँदैछ, छलफल बाँकी छ, सायद अर्को बैठकमा निर्णय हुनेछ’, उनले भने ।

प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुंगिनसकेकाले बिहीवारसम्म मुख्यमन्त्रीहरुको पनि टुंगो लाग्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update