Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

आयोगले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

अर्थिक वर्ष २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्ने उजुरीका आधारमा तत्कालीन नगर प्रमुख गंगा पासमान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव विरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रशासकीय अधिकृत मण्डलले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा निषेधाज्ञाको आदेश जारी हुने र तोकिएको साविक कर्जन्हा गा.वि.स.को कार्यालय रहेको स्थानबाट नगरपालिकाको कार्यालय संचालन गर्नु भनी विपक्षीहरु कर्जन्हा नगरपालिकाको नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाममा उच्च अदालत जनकपुर, राजविराजको परमादेशको आदेश जारी हुने भनी आदेश भएको देखिँदादेखिँदै उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालन नगरेको पाइएको अख्तियारले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

साथै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६(३) मा व्यवस्था रहेको सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आव्हानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराउने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले उनीहरु विरुद्ध एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनले निर्देश गरे अनुसार दफा ३(१)(झ) र ३(१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।

यस्तै, अर्का प्रशासकीय अधिकृत, लेखापाल र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादव विरुद्ध समेत अख्तियारले १ करोड ८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update