Odapalika - The Fourth Estate - चौथो अंग
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा 

कास्की । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।

अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुुगमन गरेकोमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख कडरियासहितको टोलीले अनुगमन गरको हो । 

अनुुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ पसलले २१ रुपैयाँ पर्ने युरिया  ३५ रुपैयाँमा र ५० रुपैयाँ पर्ने डिएपी मल ६५ रुपैयाँमा बिक्री गरेको पाइएको महाशाखा प्रमुख कडरियाले जानकारी दिए । 

मल बिक्री वितरण गर्ने अनुमतिसमेत नपाएको सो पसलले उपभोक्ता सहकारी संघाट मल ल्याएर बढी मूल्यमा बिक्री गरेको भेटिएपछि  २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास बिक्री वितरणमा रोक लगाइएको छ ।

स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रमा किसानको परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बोलाइएको महानगरपालिकाले जनाएको छ । 

पोखरा  महानगरको मल वितरण व्यवस्थापन समितिको १२ साउनमा बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डिएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकेको थियो  ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update