Odapalika - The Fourth Estate - चौथो अंग
अर्थमन्त्री पुनले फेरे राजस्व र भन्सारका महानिर्देशक, बजेट बनाउने जिम्मा शाक्यलाई

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कर्मचारीको महाशाखा परिवर्तन गरेका छन् । उनले हाल अर्थमन्त्रालयमा कार्यरत सहसचिवको नयाँ पदस्थापना तथा महाशाखा परिवर्तन गरेका हुन् । 

जसमा उनले आन्तरिक राजश्व विभाग र भन्सार विभागको महानिर्देशक परिवर्तन गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार सरुवा भएर आएका शिवलाल तिवारीलाई उनले आन्तरिक राजश्व विभागको महानिर्देशक र भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरेका छन् । 

आन्तरिक राजस्व विभागको महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभागमा महानिर्देशक पद रिक्त थियो भने भन्सारका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाइएको हो ।

तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा ल्याएका छन् ।  निरौला, तिवारी र नारायणप्रसाद सापकोटा हालसामलै अर्थमा भित्रिएका सहसचिवहरू हुन् ।

 

बजेट बनाउने जिम्मा शाक्यलाई

उनले अर्थमा भित्र्याएका २ सहसचिवलाई भन्सार र आन्तरिक राजश्व विभागको जिम्मेवारी दिएसँगै मन्त्रालयमा कार्यरत सहसचिवको महाशाखा समेत परिवर्तन गरेका छन् । 

उनले राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका छन् । 

यस्तै, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका धनीराम शर्मालाई राजश्व व्यवस्थापना महाशाखा, बजेट तथा कार्यक्रम महाशाखामा रहेका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिर्ईएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update