Odapalika - The Fourth Estate - चौथो अंग
गोरखा नगरपालिकाका जनप्रतिनिधिले किन भेटे प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौँ । गोरखा नगरपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नगरको विकासका लागि विभिन्न योजना पेश गर्दै सहयोग गर्न माग गरेको छ ।

जनप्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नगर क्षेत्रको विकासका लागि विभिन्न योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको हो ।   

गोरखा–२ का संघीय सांसदहरुलाई समेत लिएर प्रधानमन्त्रीसँग नेपालको इतिहास झल्कने गरी गोरखामा ऐतिहासिक संग्राहलय उद्यान निर्माणसहित अन्य दीर्धकालीन योजनाको प्रस्ताव गर्दै बजेट माग गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । 

उनका अनुसार पृथ्वीनारायण शाहको इतिहासदेखि गणतन्त्र नेपालसम्मको इतिहासलाई एकै ठाउँमा देख्न र अध्ययन गर्न पाइने गरी ऐतिहासिक संग्राहलय उद्यान निर्माणको प्रस्ताव प्रधानमन्त्रीसमक्ष भएको छ । 

जनप्रतिनिधिले नगरपालिकाभित्रका सडक स्तरोन्नति, छेवेटार बहुउद्देश्यीय ताल निर्माण लगायतका योजनाका लागि पनि बजेट माग गरेका छन् । 

त्यसैगरी ऐतिहासिक ठूलोआँगन क्षेत्रमा सम्पदा बस्ती निर्माणका लागि ५० करोड रुपैयाँ,  बेनीखोला मत्स्य पर्यटन केन्द्र निर्माणका लागि १० करोड, गोरखा सदरमुकामको बसपार्कदेखि खोलखोलेसम्म आधुनिकस्तरको फुटपाथसहितको सडक निर्माणका लागि २० करोड, शिखरबेँसी ताल निर्माणका लागि ५० करोड रुपैयाँबराबरको योजना पेस गरी बजेट माग गरिएको नगरप्रमुखले जानकारी दिए ।

उनीहरुले स्रोत सुनिश्चित नहुँदा रोकिएको ९० करोड रुपैयाँ लागतको गोरखा सदरमुकामको ढल व्यवस्थापनको योजना, १७ करोड लागतको दरौँदी लिफ्टिङ योजनालगायतका लागिसमेत स्रोत सुनिश्चित गरिदिन भनेको छ । 

प्रधानमन्त्री प्रचण्डले गोरखाको विकासमा आफु लागिपर्ने भन्दै बजेट सुनिश्चितताका लागि पहलकदमी लिने आस्वासन दिएका छन् । 

नगरप्रमुख रानामगरसहित, उपप्रमुख मसलीमाया थोकर प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलगायतको टोलीले प्रधानमन्त्रीलाई भेटेको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update