Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा 

काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर इलाम–२ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारको प्रारम्भिक सूचीमा अटाएका छन् । 

नेपाल जनजाति पत्रकार महासंघको महासचिवसमेत रहेका लिम्बू इलाममा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न भन्दै पत्रकारिता र माओवादी केन्द्र दुबै छाडेर चुनावी अभियानमा छन् । 

१५ बैशाखमा हुने उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका लिम्बू पहिचानबादीका रुपमा छवि निर्माण गरिरहेका छन् । 

रास्वपाको विधानमा उम्मेदवार बन्न पार्टीमा प्रारम्भिक दाबी पेश गर्नुपर्ने उललेख छ । सो अनुसार लिम्बूले पनि दाबी गरेका हुन् । तथापि उनी रास्वपा प्रवेश गरिसकेको नसकेको विषयमा रास्वपा र उनले समेत केही बताएका छैनन् । 

रास्वपाले लिम्बूलाई नै उम्मेदवार बनाउने तयारी थालेपछि उनले विधानतः दाबी पेश गरेको बताइएको छ । लिम्बूसँगै रास्वपाले गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा शेषरमण न्यौपानेको प्रारम्भिक उम्मेदवारी लिष्ट सार्वजनिक गरेको छ । 

इलामा–२ मा एमालेले उपाध्यक्षसमेत रहेका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाइृ उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । जहा पहिचानवादीहरुका तर्फबाटसमेत बेल्लै उम्मेदवारी घोषणा भइसकेको छ । 

यता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत निर्वाचन हुने क्षेत्र माङ्सेबुङमा जाने भन्दै सामाजिक संजालबाट प्रचार गरिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update