Odapalika - The Fourth Estate - चौथो अंग
वीरगंज महानगरका विद्यालयमा एकीकृत परीक्षा प्रणाली 

काठमाडौँ । वीरगंज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत ढंगमा सञ्चालन गरेको छ ।

सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई थप गुणस्तरीय र माध्यमिक शिक्षा परीक्षाको पूर्वतयारीस्वरुप महागरपालिकाले यस वर्षदेखि कक्षा ८ को एकीकृत परीक्षा सञ्चालन गरेको हो । 

संस्थागत विद्यालयहरुको छाता सङ्गठन प्याब्सन र एनप्याब्सनका प्रतिनिधि तथा महानगरपालिकाको शिक्षा समितिका पदाधिकारीको संयुक्त बैठकले चालु शैक्षिक सत्रबाट कक्षा ८ को परीक्षा एकीकृत रूपमा लिने निर्णयअनुसार आजदेखि कक्षा ८ को एकीकृत परीक्षा सुरु भएको हो ।

परीक्षामा महागरपालिकाभित्रका ३६ सामुदायिक र संस्थागत विद्यालयका गरी  ५ हजार ६३६ विद्यार्थी सहभागी छन् । एकीकृत परीक्षाको प्रश्नपत्र महानगरपालिकाले तयार पारेको हो । महानगरपालिकाका ३२ वडामा हाल ९१ सामुदायिक र १३८ संस्थागत विद्यालय सञ्चालनमा छन् । 

विद्यालय भवन,  छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध खानेपानी, कम्युटर  प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाइ सेतो बोर्डको व्यवस्थादेखि डिजिटल माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको महानगर प्रमुख राजेशमान सिंह बताउँछन् । 

शिक्षकलाई विद्यालयमा नियमित बनाउन डिजिटल हाजरी तथा कक्षा सञ्चालन भए–नभएको महानगरपालिकाबाट निगरानी बढाउन सकिने बनाइएको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update