Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान 

बुटवल । लुम्बिनी प्रदेशसभाले स्थानीय तहमा प्रदेशसभा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । 

निर्माण भएका कानूनको कार्यान्वयनको पक्ष, अब बन्ने कानूनमा एकरूपता ल्याउन र प्रदेशसभा र स्थानीय सरकारबीच कानूनीरूपमा चिनजान नभए पनि आपसी समन्वयका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । 

‘स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेशसभालाई चिन्दैन । कानूनीरूपमा स्थानीय सरकार र प्रदेशसभाको बीचमा कुनै प्रकारको समन्वय नै छैन । त्यही भएर यो कार्यक्रमले आत्मीयता पनि वढाउँछ,’ घर्तीले भने । 

प्रदेशसभाले बनाएका कानून स्थानीय सरकारलाई पनि आवश्यक पर्ने र त्यो कानून स्थानीय सरकारले बनाउँदा नबाझिने हुनुपर्ने भए पनि समन्वयको अभावमा कतिपय कानून बाभिएकाले त्यस्तो समस्या आउन नदिनका लागि पनि समन्वय आवश्यक रहेको सभामुख घर्तीको भनाइ छ । 

आइतवार एक कार्यक्रममा उनले संघीय, प्रदेश र स्थानीय सरकारले कानून निर्माण गरिरहेको र एकापसमा बाझिएको छ वा छैन भन्ने अध्ययन गर्ने निकाय नहुँदा पनि यसलाई कसरी समाधान गर्ने भन्ने समस्या रहेको बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update