Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी उर्दीः सरकारको गुणगानमा दैनिक २ स्टाटस लेख्नू !

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको प्रचार गर्न आफ्ना केन्द्रीय सदस्यलाई हरेक दिन कम्तीमा २ वटा स्टाटस र सामग्री सामाजिक संजालमा पोष्ट गर्न निर्देशन दिएको छ । 

केन्द्रीय कमिटी बैठकले  पार्टी र सरकारका उपलब्धि, नीति र नेतृत्वको प्रतिरक्षाका लागि भन्दै हरेका दिन बिहान र बेलुका गरी दिनमा कम्तीमा ३ वटा ‘स्टाटस’ पोष्ट गर्नेपर्ने निणृय गरेको हो । 

त्यस्ता पोष्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा ६ देखि ७ लाइनसम्को हुनैपर्ने माओवादीको निर्णय छ ।  केन्द्रीय सदस्यका अतिरिक्त पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टी र सरकारको पक्षमा  सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ । 

यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्रीलाई अबदेखि प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीको निर्णय छ ।

 माओवादीले प्रचार तथा प्रकाशनका लागि आइसिटी फोरम बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ । आगामी भदौ मसान्तसम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिने महराले जानकारी दिए ।

पार्टीको वेबसाइट निर्माण गरी तीनमहिने अभियानका सबै गतिविधि ‘अपडेट’ गर्ने, सम्पादक, लेखक तथा समाचारदातासँग केन्द्रीयस्तरमा नियमित अन्तरक्रिया, स्थानीयस्तरमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने माओवादीले जनाएको छ । 

केन्द्रीय सदस्यलगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटकलगायत सामाजिक सञ्जालका ‘एकाउन्ट’ बनाउनै पर्ने निर्णय माओवादीको छ । 

पछिल्ला दिन राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलगायतका दलले सामाजिक संजालमार्फत पार्टी र नेताका पक्षमा आक्रामक प्रचार थालेपछि माओवादीले पनि यह िलाइन समाएको हो । 

काठमाडौं महानगरपालिका मेयर बालेन शाह, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलगायतले पनि सामाजिक संजालमार्फत आक्रामक प्रचार जारी राखेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update