Odapalika - The Fourth Estate - चौथो अंग
बैदेशिक रोजगार बीमामा ठगी, नियामक रमिते, फागुनमै बाँडियो ४ करोडभन्दा बढी कमिसन

काठमाडौँ । बीमा समितिले अनिवार्य गरेको बैदेशिक रोजगार बीमा कार्यक्रम गरिब नेपालीलाई ठगेर म्यानपावर व्यवसायी पोस्ने हतियार बनेको छ ।

बैदेशिक रोजगारीमा जाने सबै नेपालीले अनिवार्य रुपमा बीमा गराउनु पर्ने व्यवस्था भएपनि कमिसनमा प्रतिस्पर्धा गरेर गरिब नेपाली ठग्ने हतियार यही बीमा कार्यक्रम भएको हो ।

बीमा प्राधिकरणले तय गरेको बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत बैदेशिक रोजगारीमा जाने नेपालीले उमेर अनुसार प्रतिव्यक्ति ३७ सय रुपैयाँदेखि ४९ सय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । यो भनेको औसतमा ४३ रुपैयाँ हो । नियामक निकायले शुल्क तोकेको र सरकारले अनिवार्य गरेको बीमामा पनि म्यानपावर कम्पनीलाई पोस्नको लागि मासिक ठूलो परिमाणको रकम कमिसनको रुपमा बाड्ने गरिएको तथ्य खुलेको हो ।

बैदेशिक रोजगार म्यादी बीमामा प्रतिबीमालेख ६ सय रुपैयाँसम्म कमिसन मेनपावर कम्पनीलाई दिने गरिएको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले वडापालिकालाई जानकारी दिए । अहिले प्रतिबीमालेख ६ सय रुपैयाँ सबै कम्पनीले दिने गरेको भन्दै मेनवापर कम्पनीहरु त्योभन्दा बढी कति दिने भन्दै आफूसँग आएको उनको भनाइ छ ।

‘केही कम्पनीको नाम लिएर प्रतिबीमा लेख ६ सय रुपैयाँभन्दा बढी कति दिन सक्नुहुन्छ भन्दै एउटा टोली मसँग कुरा गर्न आएको थियो । उनीहरुले चित्तबुझ्दो कमिसन पाए मासिक ५ देखि १० करोड रुपैयाँ बीमा शुल्क उपलब्ध गराउन सकिने प्रस्ताव गरेका थिए । सरकारले अनिवार्य गरेको बीमा कार्यक्रममा पनि यसरी कमिसनमा प्रतिस्पर्धा बढेर अस्वस्थ व्यवसाय हुन थालेको छ,’ ती प्रमुख कार्यकारी अधिकृतले वडापालिकासँग भने ।

मासिक ४ करोडभन्दा बढीको कमिसन

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले दिएको जानकारी अनुसार फागुन महिनामा मात्रै ६७ हजार ५४५ वटा बैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी भएको छ । अर्थात सो संख्यामा बीमालेख विक्री भएको छ । बीमा कम्पनीहरुले औसतमा प्रतिबीमालेख ६ सय रुपैयाँका दरले कमिसन दिदा पनि मेनवापर व्यवसायीले फागुन महिनामा मात्रै ४ करोड रुपैयाँभन्दा बढी कमिसन पाएका छन् ।

beema-thagi1711714014.jpg

गत फागुन महिनामा बैदेशिक रोजगार म्यादी बीमालेख विक्रीबाट जीवन बीमा कम्पनीहरुले २८ करोड २६ लाख रुपैयाँ बीमा शुल्क प्राप्त गरेका छन् । कम्पनीहरुले यही रकमबाट मेनपावर व्यवसायीलाई कमिसन दिएको हो ।

कसरी पाए मेनपावर कम्पनीले कमिसन ?

सरकारले बैदेशिक रोगारीको लागि अहिले अनलाइन श्रम स्वीकृतिको व्यवस्था गरेको छ । व्यक्तिगत रुपमा जाने वा मेनपावर कम्पनीहरुले पठाउने कामदारले पनि अनलाइन प्रणालीबाटै श्रम स्वीकृति लिनुपर्छ । 

अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिदा मेनपावर कम्पनीहरुले अनलाइन प्रणालीबाटै बैदेशिक रोजगार म्यादी जीवन बीमालेख खरिद गरिदिने हुन् । बीमा गराउने कम्पनीहरुको नामावली अनलाइन प्रणालीमा छनोट गर्नुपर्ने हुन्छ । यसरी कम्पनी छनोट गरेपछि बीमालेख वापतको रकम बीमा कम्पनीहरुको खातामा जम्मा हुन्छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले पनि बैदेशिक रोजगारीमा जाने कामदारले गर्ने बीमामा एजेन्टलाई कमिसन दिन नपाइने भनेको छ । मेनवापर कम्पनीहरुले बीमाको रकम इसेवा, खल्ती वा कनेक्ट आइपिएसबाट बीमा कम्पनीको खातामा हालिदिन्छन् । यसरी हेर्दा मेनपावर कम्पनी वा बीमा कम्पनीले यो बीमामा कमिसन लिन वा दिन सक्ने अवस्था देखिदैन ।

तर, कमिसनको खेल भने बीमा कम्पनी छनोट गर्ने बेलामा नै हुन्छ । मासिक ७ देखि ८ सय जनासम्मलाई वैदेशिक रोजगारीमा पठाउने कम्पनीले कसलाई कुन बीमा कम्पनीमा बीमा गराउने भनेर तय गर्छ । यसरी कम्पनी तय गर्दा जुन कम्पनीले बढी कमिसन दिन्छ, त्यही कम्पनी छनोट गर्ने गरेको मेनपावर व्यवसायी तथा बीमा कम्पनीहरु स्वीकार गर्छन् ।

रमिते बन्यो नियामक

वैदेशिक रोजगार बीमामा कमिसनको चक्कर चलेको बीमा क्षेत्रको नियामक निकायले पनि थाहा पाएको बीमा कम्पनीहरु बताउँछन् । तर, प्राधिकरण भने ‘उजुरी आएको छैन’ भन्दै पन्सिने गरेको छ । 

‘बजारमा मासिक ४ करोडभन्दा बढीको कमिसनको खेल भइरहेको छ । यो विषयमा नियामक निकाय पनि जानकार छ । तर, नियामकले केही बोलेको छैन,’ जीवन बीमा कम्पनीका अर्का एक अधिकारीले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update