Odapalika - The Fourth Estate - चौथो अंग
सिमकोटका दलितको निःशुल्क स्वास्थ्य बीमा, ठेहेगाउँमा स्वास्थ्य शिविर 

काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिला लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले जानकारी दिए । 

वडा नम्बर १ मा दलित समुदयाको बसोबास नभएकाले २ देखि ८ वडा सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताए ।

वडा नम्बर २ मा रहेका १४ जना, वडा ३ का १०, वडा ४ मा १, वडा ५ मा ८, वडा ६ मा ७, वडा ७ मा ८ जना र वडा नम्बर ८ मा रहेका ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।वडा १ मा भने दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागु गरिएको छैन । 

सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा भने गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । 

simkot 11711865116.jpg

आयुर्वेद स्वास्थ्य केन्द्रले ठेहेगाउँमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको हो । एकदिने शिविरमा ३१५ जनाले सेवा लिए । 

शिविरमा नसर्ने रोगको जाँच र औषधि वितरण गरिएको हो । यस्तै बाथरोग उपचार, जोर्नी, ढाड र जिउ दुख्ने बिरामीको उपचार गरिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update