Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँका नदीमा अध्यधिक प्लाष्टिक, ५ महिनामा २ हजार मेट्रिक टन फोहोर संकलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट रुद्रमती (धोवीखोला) र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु गरेको छ । 

श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको महानगरले जनाएको छ । 

सफाइमा सहभागी वडा नम्बर ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार सफाईसँगै फोहोर नफाल्न जनचेतनामूलक अभियानपनि जारी रहनेछ । सफाइ हरेक दिन विहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुनेछ । 

२ हजार २४८ मेट्रिक टन फोहोर संकलन

‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गत कात्तिक देखि हालसम्म  नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ । 

यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको छ । 

योजना कार्यान्वयन गर्ने क्रममा असोज ३० गतेदेखि नदी किनाराको सरसफाइ थालिएको हो । फागुन २० गतेदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको हो ।  

गएको मंसिर १ गतेदेखि सहरी सरसफाइका लागि थप गरिएका ३०० जना जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरुलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ । 

सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक  छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ । 

काठमाडौँका नदी

काठमाडौँमा मुख्य ९ वटा नदी छन् । यीमध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ । 

यी ८ वटा नदीहरुमा विष्णुमती, रुद्रमती )(धोवीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) छन् ।
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update