Odapalika - The Fourth Estate - चौथो अंग
गाम्नाङ्टार सेवा समाजले किन छापेन पालिका अध्यक्षको शुभकामना ?

काठमाडौँ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका अन्तरगतको गाम्नाङ्टार सेवा समाजले गाउँपालिका अध्यक्षको शुभकामना विज्ञापन नछापेको विषय अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

सो समाजले २०८१ सालको भित्तेपात्रोमा गाउँपालिका अध्यक्ष अशोक कार्कीको शुभकामना विज्ञापन नराखेको हो । यद्यपि, सो भित्तेपात्रोमा जिल्लाका संघीय तथा प्रदेश सांसदहरु, पूर्व सांसद तथा सोही गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाको पनि शुभकामना प्रकाशित भएको छ । केही वडाका वडाध्यक्षहरुको पनि शुभकामना प्रकाशित गरिएको छ ।

भित्तेपात्रोमा गाउँपालिका अध्यक्षको शुभकामना प्रकाशित नभएपछि गाउँपालिकाको कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीले असन्तुष्टी जनाएका छन् । उनले सामाजिक संजाल फेसबुकमा उनले क्यालेन्डरको फोटो राख्दै लेखेका छन्– पद र निष्ठाले हैन, पैसाले इज्जत राख्छ समाजमा ! तितो तर यथार्थ ।

उनले यो प्रतिक्रिया अध्यक्ष अशोक कार्कीलाई पनि मेन्सन गरेका छन् ।

सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित कार्की नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए भने उपाध्यक्ष निर्वाचित थापा एमालेको तर्फबाट उम्मेदवार बनेकी थिइन् । र, सो सेवा समाजमा एमाले निकट स्थानीय नेता कार्यकर्ताको बाहुल्यता रहेको बताइन्छ । समाजको निवर्तमान अध्यक्ष चित्रबहादुर थापा अहिले गाउँपालिका उपाध्यक्ष रहेकी थापाका बाबु हुन् ।

gamnangtar-sewa-samaj-calen1711867052.jpg

समाजले निकालेको क्यालेन्डरका विषयमा चौतर्फि वहस भइरहदा समाजका अध्यक्ष कृष्णबहादुर खत्री भने विवाद गर्नुपर्ने विषय नै नभएको बताउँछन् । क्यालेन्डरमा विज्ञापनका रुपमा शुभकामना प्रकाशित गरिएको र विज्ञापन दिनेहरुको मात्रै शुभकामना प्रकाशित गरिएको उनको भनाइ छ ।

‘समाजले विगत वर्षहरुमा पनि क्यालेन्डर प्रकाशित गर्ने गरेको थियो । यो १४औं क्यालेन्डर हो । यसअघिका क्यालेन्डरहरुमा पनि गाउँपालिकाका अध्यक्षको शुभकामना प्रकाशित भएको थिएन । जसजसले विज्ञापन दिनुभयो उहाँहरुको छापिएको हो,’ अध्यक्ष खत्रीले भने ।

उनले क्यालेन्डरमा ७२ वटा विज्ञापन राख्ने गरिएको र सो संख्या पूरा भएपछि थप विज्ञापन खोज्न नलाग्दा केही छुटेको हुन सक्ने बताए । अघिल्ला वर्षहरुको विज्ञापन हेरेर नयाँ वर्षको क्यालेन्डरको विज्ञापनको लागि पनि सम्पर्क गर्ने गरिएको र अहिलेका गाउँपालिकाका अध्यक्षको गत वर्ष विज्ञापन नछापिएका कारण छुट्न गएको अध्यक्ष खत्रीले बताए ।

‘गाउपालिका उपाध्यक्ष थापा हाम्रो समाजको आजिवन सदस्य हुनुहुन्छ । उहाँले विज्ञापन छाप्नको लागि सम्पर्क पनि गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष कार्कीले सम्पर्क गरेर मेरो शुभकामना राखिदिनु पनि भन्नुभएन, हामीले सम्पर्क गरेर विज्ञापन राख्ने कि नराख्ने भनेर पनि सोधेनछौं । भएको यति हो,’ समाजका अध्यक्ष खत्रीले भने ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update