Odapalika - The Fourth Estate - चौथो अंग
राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द, पोसाक र कार्ड नभएका कर्मचारीलाई ‘नो इन्ट्री’

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले आज (आइतबार) देखि कर्मचारी पोसाक र परिचयपत्र नभिरेका कर्मचारीलाई प्रवेशमा रोक लगाएको छ । 

कर्मचारीमा अनुशासन राख्न र सेवा प्रवाहमा सहज बनाउन उक्त निर्णय लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । 

आइतबारदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याइएको भन्दै उनले अब छिट्टै कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जर समेत बन्द हुनेछ । 

फेसबुक र म्यासेन्जरका कारण सेवा प्रवाहमा समस्या आएको भन्दै नगरपालिकाले १० बजेदेखि ५ बजेसम्म बन्दको निर्णय यसअघि नै गरिसकेको हो । 

‘हामीले फेसबुक र म्यासेन्जर समेत आजैदेखि बन्दको निर्णय गरेका थियौँ, तर त्यो निर्णय वार्षिक परीक्षा भर कार्यान्वयनमा नआउने भएको छ’, उनले भने । 

नगरपालिकामा लामो समयदेखि कार्यरत पशु चिकित्सक शैलेन्द्र भण्डारीले गत बिहीबार प्रमुख प्रशासकीय अधिकृतकको जिम्मेवारी पाएसँगै उनले सेवा प्रवाहलाई जोड दिदैँ आएका छन् । 

‘नगरपालिकाका कर्मचारीहरु कर्मचारी जस्तो भएन, उहाँहरुलाई कार्यालयमा नेपाल सरकारले तोके बमेजिमको कर्मचारी पोशाक र कर्मचारी परिचयपत्र लगाएर उपस्थित हुन मैले निर्देशन दिएको छु, पोशाक र परिचयपत्रसँगै म्यासेन्जर र फेसबुक समेत बन्दको निर्णय गरेको हुँ’, उनले भने । 

उनले कर्मचारी बैठक नै राखेर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र नगरपालिका अन्तर्गतका सबै शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य पोशाक र परिचयपत्र लगाएर मात्र आउन निर्देशन दिएका हुन् । 

यस्तै, उनले सबै शाखाका प्रमुख तथा कर्मचारीहरुलाई अतिआवश्यक बाहेक आफ्नो कार्यकक्ष नछोडन समेत निर्देशन दिएका छन् । उनले खाजा खान तथा अन्य कामका लागि कार्यकक्षबाट बाहिरिनु पर्दा प्रमुख वा अन्य कर्मचारीलाई जानकारी गराएर वा लग बुक भरेर निस्कनुपर्ने नियम बनाएको बताए । 

पछिल्लो समय काम सकियो, वा प्रमुख कार्यकक्षमा नभएको मौका छोपेर कर्मचारीहरु छिट्टै निस्कन थालेपछि उनले त्यसलाई रोक्न कार्यालय समयभित्र आफ्नो कार्यकक्षमा अनिवार्य रुपमा बस्न निर्देशन दिएका हुन् । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update