Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका नगर प्रहरी जवानहरुको आधारभूत तालिम सुरु 

काठमाडौँ । कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह गरेका छन् । सोमबारदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ गर्दै उनले प्रशासन विभाग र महानगर प्रहरी बलका अधिकारीलाई तालिमको मूल्याङ्कन र यसका सूचक प्रयोगका बारेमा आग्रह गरेका हुन् ।

‘महानगरपालिकालाई आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुन्छ । यसकारण, महानगरपालिकाको छवि, फिल्डमा खटिने नगर प्रहरीको काँधमा पनि छ,’ उनले भने, ‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ । तालिमबाट यसप्रकारको ज्ञान र व्यवहार परिवर्तन सिप प्रदान गरिनेछ ।’ 

प्रशासन विभागका प्रमुख दीपक अधिकारीकाअनुसार करार सेवामा नगर प्रहरी जवान नियुक्तिका लागि गएको असार, (२०८०) २० गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको हो । 

आवेदक माग गर्दा निवेदनसहित प्रवेश पत्रको प्रतिलिपि पनि मागिएको थियो । 

नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइन्छ । यस अघि शारीरिक तालिम प्रदान गरिसकिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ । हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड््युटीमा खटाइनेछ । 

    
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update