Odapalika - The Fourth Estate - चौथो अंग
बागलुङ नगरपालिकाले प्रभु बैंकसँग मिलेर सुरु गरेको ‘नगरकी छोरी’ कस्तो कार्यक्रम हो ?

बागलुङ नगरपालिकाले प्रभु बैंकसँग मिलेर सुरु गरेको ‘नगरकी छोरी’ कस्तो कार्यक्रम हो ?

काठमाडौं । प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्तरगत ‘नगरकी छोरी’ कार्यक्रम आइतबारबाट सुरु भएको छ ।

छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिकरुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई शिक्षित र स्वावलम्बन बनाउने लक्ष्यका साथ सो कार्यक्रम सुरु भएको हो ।

बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली नगरकी छोरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

नगरकी छोरी कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० आषाढ १ गते पश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ ।

बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट एकमुष्ट पाँच हजार रुपैयाँ जम्मा गरिनेछ र प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको हो ।

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले सुरु गरेको नगरकी छोरी कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने बैंकले विश्वास लिएको छ ।

कसरी हुने कार्यक्रममा सहभागी ?

बैंकसँग सम्झौता भएपछि नगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेर नगरकी छोरी कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ । सुचनामा गत साउन १ गतेयता जन्म भएका र बागलुङ नगरपालिका स्थायी ठेगाना भएका छोरीहरु यो कार्यक्रममा सहभागी हुन पाउने छन् ।

कार्यक्रममा सहभागी भएपछि छोरीहरुले प्रतिव्यक्ति ५ हजार रुपैयाँ नगरपालिकाको तर्फबाट पाउने छन् । यद्यपि, सो रकम निकाल्नको लागि भने छोरीको उमेर २० वर्षको पुगेको हुनुपर्नेछ । 

कार्यक्रममा सहभागी हुनको लागि २०८० साउन १ गतेयता जन्म भएका छोरीको लागि उनका बाबुआमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी संलग्न गरी आफ्नो वडा कार्यालयमा निवेदन दिनु पर्छ । बाबुआमा नभएका छोरीहरुको हकमा भने संरक्षकको नागरिकताको प्रतिलिपी हुनुपर्छ ।

यस्तै, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित वडा कार्यालयको सिफारिस र बच्चाको फोटो प्राप्त भएपछि नगरपालिकाले त्यस्ता छोरीहरुको लागि प्रभु बैंकको बागलुङ शाखामा मुद्दति खाता खोली ५ हजार रुपैयाँ राखिदिने छ । यस्तो खातामा बैंकले मुद्दति निक्षेपको लागि प्रकाशित गरेको उच्चतम व्याजदर प्रदान गर्ने नगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी भएका छोरीले कम्तिमा पनि विद्यालय शिक्षा पूरा गरुन र बालविवाह नहोस भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको नगरकी छोरी कार्यक्रमका संयोजक सुदीप राजभण्डारीले जानकारी दिए ।

‘छोरीको भ्रुणहत्या बढी हुन थालेको छ । यसलाई रोक्न, विद्यालय पठाउने र उमेर पुगेपछि मात्रै विवाह गर्ने चेतना अभिबृद्धि गर्न यो प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको हो । आज नगरपालिकाले दिएको ५ हजार रुपैयाँ २० वर्षपछि हिसाव गर्दा मोटामोटी १ लाख रुपैयाँ जति हुने रहेछ । अभिभावकको चेतना अभिबृद्धि गर्न आर्थिक प्रोत्साहनको कार्यक्रम ल्याइएको हो,’ कार्यक्रम संयोजक राजभण्डारीले वडापालिकासँग भने ।

यो कार्यक्रममा सहभागी भएका छोरीको २० वर्षअघि नै कुनै कारणवस मृत्यू भएका उनका अभिभावकले रकम झिक्न पाउने छन् । यस्तै, नगरपालिकाले रकम राख्ने गरेपछि छोरीलाई पढाउनै पर्ने र २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्ने भन्ने जस्ता वाध्यकारी व्यवस्था भने गरेको छैन ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update