Odapalika - The Fourth Estate - चौथो अंग
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बनायो आफ्नै लगानी अस्पताल, डाक्टर नियुक्ति गरेर थालियो सेवा

काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै लगानीमा अस्पताल भवन बनाएर सेवा सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर २ मा पर्ने डाडागाउँमा ५ बेडको अस्पताल संचालन गरिएको हो ।

गाउँपालिकाको लगानीमा सामान्य भवन बनाएर विशेषज्ञ डाक्टर सहितको सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए । संघीय सरकारले जनशक्ति उपलब्ध नगराएपछि गाउँपालिकाकै स्रोतमा विशेषज्ञ डाक्टर सहितको जनशक्ति व्यवस्था गरिएको उनको भनाइ छ ।

‘हामीले सामान्य भवन बनाएका छौं । एक जना विशेषज्ञ डाक्टर सहितको जनशक्ति पनि नियुक्त गरेका छौं । गाउँपालिकाको ३० लाख रुपैयाँ लगानी भइसकेको छ । अहिलेको लागि ५ बेडको अस्पताल संचालनमा आएको छ,’ अध्यक्ष राईले वडापालिकासँग भने ।

उनले सो अस्पताललाई बढाएर १५ बेडसम्मको पुर्याउने लक्ष्य राखिएको पनि बताए । यसको लागि करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गाउँपालिकाको छ । भौतिक संरचनाको लागि गाउँपालिकाले नै लगानी गर्ने उनको भनाइ छ । तर, जनशक्तिको लागि संघीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीलाई अग्लो गगनचुम्बी भवन चाहिदैन । सामान्य भवन भए हुन्छ । हामीलाई चाहिने भवन आफै बनाउँछौं । संघीय सरकारले जनशक्ति दिए हुन्छ । तर, दिइरहेको छैन,’ अध्यक्ष राईले थपे ।

प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब २४ सै घण्टा स्वास्थ्य सेवा प्रवाह हुनेछ । अस्पतालमा एक जना विशेषज्ञ डाक्टरसहित १४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

सो अस्पतालमा अस्पतालमा ल्याब तथा बर्थिङ सेवा उपलब्ध रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । ल्यावमा रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने सुविधा छ । यस्तै बर्थिङ सेन्टरमा सुरक्षित सुत्केर सेवा उपलब्ध छ ।

मेडिकल अफिसरको रुपमा डा. मन्दिप उप्रेती कार्यरत छन् । यसअघि सो गाउँपालिकामा अस्पताल नहुँदा सामान्य रोग परीक्षण एवं उपचारका लागि पनि जिल्ला अस्पताल खोटाङ वा विराटनगर तथा धरान जानुपर्ने वाध्यता थियो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update