Odapalika - The Fourth Estate - चौथो अंग
चाँगुनारायण नगरपालिका गज्जवका १२ काम, अरु पालिकाले गर्न सक्छन् अनुकरण

काठमाडौँ । भक्तपुरको चाँगु नारायण नगरपालिकाले १२ वटा अनुकरणीय कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले केही विगत वर्षहरुदेखि नै र केही नयाँ कार्यक्रम गरेर १२ वटा अनुकरणीय कार्यक्रम संचालन गरेको हो ।

नागरिकको सबैभन्दा नजिकको सरकार भएकोले उनीहरुका आवश्यकता पूरा गर्ने र दुःख सुखको साथी बन्नको लागि नागरिकसँग जोडिएका केही विशेष कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिए ।

‘स्थानीय सरकार भनेको नागरिकको सबैभन्दा नजिकको सरकार हो । नागरिकका सानातिना समस्या पनि स्थानीय सरकारले हेरिदिनु पर्ने हुन्छ । त्यसैले चाँगुनारायण नगरपालिकाले नागरिकका समस्या सम्बोधनको लागि अधिकतम प्रयास गरेको छ,’ प्रमुख प्रशासकीय अधिकृत पन्थीले वडापालिकासँग भने ।

यस्ता छन् १२ अनुकरणीय कार्य

१ निःशुल्क रगत

चाँगुनारायण नगरपालिकाले सो नगरपालिकाभित्रका जनतालाई उपचारको क्रममा रगत आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने गरेको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सम्झौता गरी रगत निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाएको हो । रगतको लागि आवश्यक पर्ने शुल्क नगरपालिकाले तिरिदिने र रेडक्रसले चाँगुनारायण नगरपालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।

२. निःशुल्क अक्सिन

नगरपालिकाले आफ्नो नगरक्षेत्रका नागरिकलाई आवश्यक परेमा निःशुल्क अक्सिजन उपलब्ध गराउने गरेको छ । नगरपालिकाको वडा नम्बर ४ मा रहेको चाँगुनारायण नगर अस्पालतमा स्थापना गरेको अक्सिजन प्लान्टमार्फत निःशुल्क अक्सिजन उपलब्ध गराउने गरेको । सो अक्सिजन प्लान्ट नगरपालिका र चाँगुनारायण फाउन्डेसनको सहकार्यबाट स्थापना गरिएको हो । 

अक्सिजन प्लान्टको लागि फाउन्डेसनले कुल लागतको ६० प्रतिशत रकम लगानी गरेको छ भने. नगरपालिकाले ४० प्रतिशत लगानी गरेको छ । अक्सिजन प्लान्ट राख्नको लागि नगरपालिकाले करिब ४४ लाख रुपैयाँ दिएको छ भने मर्मतसम्भार , रङ रोगन , रेलिङ, अनि ट्रान्सफर्मरको  प्लेटफर्म र वरिपरी तारजालीसमेत गरेर फाउन्डेसनको ८० लाख रुपैयाँ लगानी भएको फाउन्डेसनका अध्यक्ष मनिराज खत्रीले जानकारी दिए ।

नगरपालिकाले निःशुल्क अक्सिजन दिनको लागि चालु आर्थिक वर्ष मात्रै २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

३. विपन्न तथा जेष्ठ नागरिक स्वास्थ्य बीमा

नगरपालिकाले आफ्नो नगरक्षेत्रका विपन्न तथा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराउने गरेको छ । नागरिकहरूमा स्वास्थ्य सेवा प्रभावकारी गर्न विपन्न तथा ज्येष्ठ नागरिकहरूका परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिएको हो । यो कार्यक्रमको लागि मात्रै नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

४. कृषि तथा पशुबाली बीमा

चाँगुनारायण नगरपालिकाले कृषि क्षेत्रको लागि पनि आकर्षक कार्यक्रमहरु संचालन गरिरहेको छ । संघीय सरकारले कृषि तथा पशुबाली बीमा कार्यक्रममा बीमाशुल्कको ८० प्रतिशत अनुदान दिने गरेको छ । नगरपालिकाले बाँकी रहेको २० प्रतिशत रकम अनुदान दिएर कृषि तथा पशुबाली बीमा किसानका लागि निःशुल्क गरिदिएको हो ।

५. सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई वार्षिक ४ हजार

नगरपालिकाको अर्काे अनुकरणीय कार्यक्रम सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने र छात्रालाई पढाउन अभिप्रेरित गर्ने कार्यक्रम हो । यसका लागि नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई नगरपालिकाको तर्फबाट वार्षिक ४ हजार रुपैयाँ बैंकमा खाता खोली रकम जम्मा गरिदिने कार्यक्रम हो ।

नगरपालिकाले गरेको व्यवस्था अनुसार कक्षा १ देखि १२ सम्म पढ्ने छात्राले वार्षिक ४ हजार रुपैयाँका दरले रकम पाउँछन् । बीचमा पढाइ छोडे वा विवाह गरे रकम पाउँदैनन् । चाँगुनारायण नगरपालिकाभित्र ३९ वटा सामुदायिक विद्यालय छन् ।

६. मेयर उद्यमशीलता कार्यक्रमः विनाधितो विनाव्याज ५ लाख ऋण

चाँगुनारायण नगरपालिकाले उद्यमशीलता विकासमा विशेष कार्यक्रम संचालन गरिरहेको छ । उद्यमशीलता विकासका लागि पुँजीको आवश्यक हुनेलाई पुँजी उपलब्ध गराउने कार्यक्रम नगरपालिकाले संचालन गरेको हो । यसमा पनि विशेष गरेर युवालाई लक्षित गरिएको छ ।

बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको मेयर उद्यमशिलता विकास कार्यक्रमको लागि चालु आर्थिक वर्ष मात्रै नगरपालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कार्यक्रममा सहभागी युवाले उद्यम व्यवसाय गर्न नगरपालिकाको सिफारिसमा ५ लाख रुपैयाँ विनाधितो ऋण पाउँछन् । र, त्यस्तो ऋणको व्याज पनि नगरपालिकाले नै तिरिदिने गरेको छ । यस्तो कर्जा ५ वर्षभित्रमा तिरिसक्नु पर्ने व्यवस्था मिलाइएको छ ।

७. विद्यार्थीलाई दिवा खाजामा १० रुपैयाँ

अहिले संघीय सरकारले देशभरका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई दैनिक १५ रुपैयाँ खाजाखर्च दिने गरेको छ । यसमा चाँगुनारायण नगरपालिकाले मासिक १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याइएको छ ।

८. विपन्न नागरिक औषधी उपचार 

विपन्न नागरिकको स्वास्थ्य उपचारमा पनि चाँगुनारायण नगरपालिकाले विशेष कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले संचालन गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रममार्फत विपन्न नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गरिएको हो ।

संघीय सरकारले तोकेको मापदण्ड पूरा गरेपछि विपन्न नागरिकको स्वास्थ्य उपचारमा १ लाख रुपैयाँसम्म अनुदान दिने गरिएको छ । यस्तै कार्यक्रम प्रदेश सरकारले पनि ल्याएको छ । प्रदेश सरकारले विपन्न नागरिक स्वास्थ्य उपचारको लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म अनुदान दिन्छ । चाँगुनारायण नगरपालिकाले संघ र प्रदेश सरकारको कार्यक्रममा सहभागिता जनाउँदै थप १० हजार रुपैयाँ उपलब्ध गराउने गरेको हो । यस्तै, कतिपय अवस्थामा कार्यपालिका बैठकबाट निर्णय गरेर थप ५० हजार रुपैयाँ अनुदान पनि दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । 

चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षमा विपन्न सहयोग कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

९. कृषि अनुदान

चाँगुनारायण नगरपालिकाले किसानलाई अनुदान दिने गरेको छ । किसानलाई प्रविधिमा अनुदानको नीति लिँदै एक घर एक परिवार, फलफूल सदाबहार कार्यक्रम लागू गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले बाँझो जग्गा राख्न निधेष गर्दै त्यस्ता जग्गामा कृषि उत्पादनका लागि आह्वान गर्ने, उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने, कृषि भण्डारण एवं प्रशोधन केन्द्र सञ्चालन गरिने र कृषिमा आधारित उद्योग खोल्न लगानी बढाइने जस्ता कार्यक्रम संचालन गरेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रममार्फत व्यावसायिक तरकारी खेती गर्न कृषकलाई सहुलियत दिने, कृषकलाई कृषि ऋण उपलब्ध गराउने, प्राविधिक सहयोग उपलब्ध गराउने, खाद्य अधिकार सुरक्षा तथा कृषिमा आधारित रोजगार बढाउने कार्यक्रम पनि संचालन गरिएको छ ।

महिलालाई सामूहिक कृषि तथा पशुपालन व्यवसाय गर्न ब्याज अनुदानमा ऋणको व्यवस्था, प्रत्येक वडामा कृषि उपज केन्द्र स्थापना, व्यावसायिक जडीबुटी खेती तथा बेमौसमी तरकारी खेतीका लागि टनेल खेती विस्तार जस्ता कृषि क्षेत्र लक्षित कार्यक्रम चाँगुनारायण नगरपालिको संचालन गरेको छ ।

१०. बालमैत्री नगरपालिका

चाँगुनारायण नगरपालिकाको अर्काे अनुकरणीय कार्य बालमैत्री नगरपालिका हो । सो नगरपालिका काठमाडौँ उपत्यकाकै पहिलो बालमैत्री नगरपालिका घोषित भएको थियो ।

११. वडावडामा सफाइ सहजकर्ता

चाँगुनारायण नगरपालिकाले सरसफाइमा विशेष ध्यान दिएको छ । सरसफाइको लागि सबै वडामा सरसफाइ सहजकर्ता राखेर सहजीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिए ।

१२. घुम्ती स्वास्थ्य सेवा

चाँगुनारायण नगरपालिकाको अर्काे अनुकरणीय कार्यक्रम नागरिक बसेकै ठाउँमा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम हो । नगरपालिकाले विभिन्न समयमा घुम्ती सेवा मार्फत नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । विशेषज्ञ डाक्टर उपकरण सहितको घुम्ती स्वास्थ्य सेवा कार्यक्रम धेरै नै प्रभावकारी भएको स्थानीयले बताएका छन् । पशु तथा बालीनालीमा लाग्ने रोग रोकथामका लागि पनि नगरपालिकाले विभिन्न समयमा घुम्ती सेवा उपलब्ध गराउने गरेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update