Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्जमा राजेशमान पनि चलाउन थाले डोजर

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सडक छेउछाउकाका अनधिकृत घरटहरा हटाउन थालेको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाउन थालेको हो । 

सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने क्रम बढेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको हो । यसैको शिलसिलामा महानगरले वडा नम्बर २९ बसडिल्वाका घरटहरा हटाइएको छ । 

वीरगन्जको बगहीबाट मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका–३ को पारस चोकसम्म ७.५ किलोमिटर पक्की सडक निर्माणाधीन  छ । सडक क्षेत्रमा परेको भौतिक संरचना हटाउन पटकपटक सूचना दिए पनि अटेर गरेर नहटाएपछि महानगर आफैले हटाएको छ ।

यसअघि हुलाकी सडकअन्तर्गत वीरगञ्ज महानगरपालिका १५ स्थित प्रतिमा चोकमा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको थियो । केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएका कारण हुलाकी सडक निर्माण अवरुद्ध भएपछि ती संरचना भत्काइएका थिए ।

महानगरले अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रमा निर्माणाधीन भौतिक संरचना हटाउने अभियानका क्रममा हालसम्म २८ वटा सार्वजनिक पोखरी तथा एक सय ४८ बिघाभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा ल्याएको मेयर राजेशमान सिंहको सचिवालयले जानकारी दियो ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update