Odapalika - The Fourth Estate - चौथो अंग
टिकापुरका मेयर कुट्ने गण्डकी र बागमतीका अध्यक्ष नाउपाबाट निष्कासन

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात गर्ने दुई प्रदेशका अध्यक्षलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीबाट निष्कासन गरेको छ । 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी हुन् ।

संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरूङलाई जिम्मेवारीबाट पदमुक्त गरेकी हुन् ।

‘नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा चैत १९ गतेका दिन पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईंसमेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारू र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरी कुटपिटसमेत गरेको हुदाँ पार्टीको विधान २०७८ को धारा १७ को उपधारा (क) को (२) (४) बमोजिम र सोही विधानको धारा १७ (४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट पदमुक्त गरी निष्काशन गरिएको जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ ।

दुवै अध्यक्षलाई एकै व्यहोरोको पत्रमार्फत् निष्कासन गरिएको जानकारी गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update