Odapalika - The Fourth Estate - चौथो अंग
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति? 

काठमाडौँ । गाेरखा सदरमुकामस्थित गोरखा नगरपालिकाले विपद्जन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपदमा परी मृत्यु भएमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगर जानकारी दिए । 

यसका लागि नगरपालिकाले विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गरेको छ । कार्यविधिमा नगरपालिकाले बालीनालीको क्षति, पशु मरेमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने उल्लेख छ ।

विपद्मा परेर घाइते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई १५ हजार रुपैयाँ, पक्की घर पूर्ण क्षति भएमा २५ हजार, आंशिक क्षति भएमा १५ हजार, कच्ची घर पूर्ण क्षति भएमा २० हजार र आंशिक क्षति भएमा १० हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिने कार्यविधिमा उल्लेख छ । 

विपद्बाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा १० हजार, आंशिक क्षति भएमा ७ हजार, सामान्य टहरो पूर्ण क्षति भएमा ८ हजार, सामान्य क्षति भएमा ५ हजार, घरको आँगन, पर्खालको  क्षतिभएमा ३ हजार रुपैयाँ राहत दिने कार्यविधिमा उल्लेख छ । 

कार्यविधिमा नगरपालिकाले कृषिबाली तर्फ हुने क्षतिमासमेत किसानलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । खाद्यान्न र तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा प्राविधिकलागत अनुमानका आधारमा बढीमा २० हजारसम्म क्षतिपूर्ति उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाले स्वीकृत गरेको कार्यविधिमा विपद्बाट भैँसी, गाईगोरुमा मरेमा प्रतिगोटा बढीमा १० हजार, भेडाबाख्रा, बङ्गुर तथा सुङ्गुर मरेमा बढीमा ५ हजार, व्यावसायिक दर्ता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएका २० हजार तथा गोठखोर क्षति पुगेमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति रकम उपलब्ध गराउने उल्लेख छ ।

कार्यविधि स्वीकृत भएसँगै शनिबार चितवनको इन्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर मुत्यु भएका गोरखा नगरपालिकाका ५ जना मृतक र १ जना बेपत्ता भएका व्यक्तिको परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख रानामगरले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update