Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले पनि थाल्यो गरिब घरपरिवार पहिचान 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ चैतदेखि गरिब घरपरिवार गणना सुरु गर्ने भएको छ । 

गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि आजदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा ४ दिनको तालिम सुरु भएको छ । 

तालिम सुरु गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले गणकहरुले भरेको विवरण स्रोतमा पुष्टि हुनुपर्ने बताए । ‘अवस्था अनुमान गरेर विवरण भर्ने सुविधा कसैलाई छैन । यसबाट प्राप्त हुने तथ्याङ्कहरु नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने आधार हुन् । फिल्डमा जानुअघि तथ्याङ्कको संवेदनशीलता हरेक गणक, सुपरिवेक्षक र यसमा खटिने अधिकारीहरुलाई बोध हुन जरुरी छ,’ उनले भने ।

उनले फिल्डमा सोधिने हरेक प्रश्नको सहजतापूर्वक उत्तर दिने क्षमता लिएर फिल्डमा जान आग्रह गर्दै आफूले उत्तर दिन नसक्ने सवाल भए आफ्नो भूमिकाका बारेमा बुझाएर सोधिएका प्रश्नको उत्तर पाउने ठाउँका बारेमा भनिदिन आग्रह गरे ।

४ दिने तालिममध्ये पहिलो २ दिन सैद्धान्तिक र पछिल्ला २ दिन प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट््यावको प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइनेछ । 

प्रशिक्षणका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना अधिकारीहरुलाई प्रशिक्षण दिएर प्रशिक्षकका रुपमा उत्पादन गरेको छ । 

यसरी छानिए गणक र सुपरिवेक्षक 

ट््याब्लेटबाट विवरण संकलन हुने यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न महानगरपालिकाले गएको मंसिर १६ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । 

अनलाइन प्रणालीबाट आवेदन लिएको यस कार्यक्रममा गणकका लागि ८ हजार २८ जना र सुपरिवेक्षकका लागि २ हजार ६६५ जनाको आवेदन प्राप्त भएको थियो । 

आवेदकमध्येबाट योग्यताका आधारमा सर्टलिष्टमा छानिएका उम्मेदवारको सूची, माघ १४ गते प्रकाशन गरिएको थियो । त्यही महिनाको २१ गतेदेखि २४ गतेसम्म लिइएको अन्तर्वार्ताबाट फागुन १७ गते योग्यता क्रमको अन्तिम नतिजा प्रकाशन गरिएको थियो । यसबाट २१ जना सुपरीवेक्षक र २०९ जना गणक छानिए । 

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या (२ लाख ३८ हजार ९६६) लाई वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ । १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ । 

यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१ जनाका दरले खटिनेछन् । तिवारीकाअनुसार वडा नं. ६ र ३१ मा १४ जनाका दरले, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १० जनाका दरले जनशक्ति परिचालन हुनेछन् । 

यस्तै वडा नं. २६ र १३ मा ९ जनाका दरले, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८ जनाका दरले जनशक्ति खटिनेछन् । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५ जनाका दरले, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३ जनाका दरले खटिनेछन् । 

वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २ जनाका दरले खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १ जनाका दरले जनशक्ति खटिनेछन् । गणकहरुबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्नेछन् ।     

काठमाडौँसँगै देशभरिको गणना सकिँदै  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गणनाका लागि अन्तिम पालिका हो । यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ । 

तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक ५ बर्षमा परिचय पत्र नविकरण गराउनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचय पत्र नविकरण गरिएको छैन । सहसचिव सापकोटाका अनुसार यसपछि सबै विवरण अद्यावधिक हुनेछ । 

गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचय पत्रका आधारमा हुनेछ । दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचय पत्रका आधारमा हुनेछ ।  

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update