Odapalika - The Fourth Estate - चौथो अंग
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि 

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिकाले संघीय सरकारसमक्ष पालिकाभित्र खानेपानी आयोजनाका लागि बजेट दिन माग गरेको छ । 

गाउँपालिकाका जनप्रतिनिधिले खानेपानीमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर खानेपानी आयोजनामा बजेट दिन माग गरेका हुन् । 

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा मन्त्रीसँग भएको भेटघाटमा विभिन्न खानेपानी योजनाका लागि बजेट माग गरिएको अध्यक्ष थापाले जानकारी दिए । 

पर्यटकीय नगरी बन्दीपुरमा खानेपानीको अभाव रहेकाले खानेपानी योजनाका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको पालिकाको भनाइ छ । 

बन्दीपुर बजारमा खानेपानीको अभावले पर्यटकहरु बास बस्नसमेत नखोज्ने अवस्थाले बन्दीपुरको पर्यटनलाई असर गरेको हुँदा खानेपानी आयोजनाका लागि आवश्यक बजेट उपलब्ध गराउन अध्यक्ष थापाले मन्त्री राईसमक्ष अनुरोध गरे ।

मन्त्री राईले बन्दीपुरको खानेपानीका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update