Odapalika - The Fourth Estate - चौथो अंग
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व 

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ । 

पालिकाले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्कबाट उक्त राजस्व संकलन गरेको हो । ८ महिना अवधिमा ३१ हजार ७२५ जना विदेशी नागरिकले खुम्बु क्षेत्रको भ्रमण गरे ।

सबैभन्दा बढी कात्तिक महिनामा ११ हजार ६०३ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । त्यसैगरि साउनमा ३२३ जना, भदौमा १ हजार ७०९ जना, असोजमा १ हजार ८०२ जना विदेशी पर्यटक खुम्बु पुगेको गाउँपालिकाले जनाएको छ । 

मंसिरमा २ हजार ८०० जना, पुसमा १ हजार ३०२ जना, माघमा ६०२ जना र फागुनमा २ हजार ५८४ जना विदेशी पर्यटकले सो क्षेत्र भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । 

पालिकाले स्थानीय शुल्क स्वरुप एकजना विदेशी पर्यटकबाट २ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । गाउँपालिकाले लिएको शुल्कले पर्यटन पूर्वाधार निर्माणलगायत काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित थामसेर्कु, कोङ्दे, आमादब्लमलगायतका हिमशृङ्खला खुम्बु पासाङल्हामू गाउँपालिकाभित्र पर्छ ।

यसैबीच,  जिल्ला सामुदायिक आखाँ केन्द्र फाप्लुमा ५३ जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । जिल्लामा विभिन्न स्थानबाट छनौट भएका मोतीबिन्दुका बिरामीहरूको आजबाट शल्यक्रिया सुरु भएको हो ।  

यही चैत्र ४ गतेदेखि १५ गतेसम्म जिल्लाको विभिन्न स्थानमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । जहाँ २० जना पुरुष र ३३ जना महिलाको शल्यक्रिया गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update