Odapalika - The Fourth Estate - चौथो अंग
भैरवी गाउँपालिकामा फेरि सुरु भयो पेट्रोलियम उत्खनन् 

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म पुगेको स्थानीयले बताएका छन् । 

२०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएकामा अब अन्तिम ड्रिलिङ सर्भेको काम बाँकी छ । नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण भैरवी पुग्न थालेका छन् । दैनिक तीन चरणमा काम थालिउको आयोजनाको भनाइ छ ।

अन्वेषण परियोजनाले २४सै घण्टा तीन चरणमा समय विभाजन गरी काम गर्ने जनाएको छ । काम सुरु भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने व्यवस्था मिलाएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल बताउँछन् । 

चिनियाँ टोलीसँगै स्थानीय १२ जनालाई अन्वेषण परियोजनाले रोजगारी दिएको छ । काम अघि बढेपछि थप स्थानीयले रोजगारी पाउने परियोजनाले जनाएको छ ।

ड्रिलिङ भएको ५ महिनाभित्र अन्वेषणको काम सकिनेछ । उपकरण ल्याउनकै लागि सडक डिभिजन सुर्खेतले सडकको मोड फराकिलो पार्न ४ करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी सडकका मोड चौडा बनाएको छ । १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठूलो ड्रिलिङ मेसिन ल्याउन सडक साघुँरो हुँदा फराकिलो बनाउनु परेको हो । 

नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी ४ वटा सर्भे गरिसकेका छन् । 

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगे सम्झौता भइसकेको छ ।

भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी १ लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहण गरिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update