Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा गरेका हुन् ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाए । मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। 

सत्ता साझेदार दल माओवादी केन्द्रले सरकारलाई दिएको दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो।बहुमतका लागि गण्डकीमा ३१ जना सांसदको साथ चाहिन्छ। 

मुख्यमन्त्री पाण्डेले बिहीबारभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर, बहुमत आउने नदेखेपछि राजीनामा दिएका हुन्। नेपाली कांग्रेस संसदीय दल नेता समेत रहेका पाण्डेले पुनः मुख्यमन्त्री बन्ने हिसावका साथ राजीनामा गरेका हुन् । गण्डकीमा कांग्रेस ठूलो दल हो। यहाँ कांग्रेसका २७ सांसद छन्। 

यस्तै, एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन्।

राप्रपाले आफूहरू सत्ताकेन्द्रित राजनीतिमा अहिले नरहेको बताइरहेकोले संघको एमाले माओवादी गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्‍याउन नसक्ने आकलन कांग्रेसको छ। 

नयाँ गठबन्धनले सरकार बनाउन नसके ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री दाबी गर्ने तयारी पाण्डेको छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update