Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्ते वगैँचामा आज २०० वटा फूल र लहरा वोटका विरुवा रोपेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । 

आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा विरुवा रोपेका छन् ।   

आयोजना प्रमुख थापाका अनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनमेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने विरुवा छन् । सामान्यतयाः यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

हरियाली हुने विरुवामा होया, मनिप्लान्ट, आइभ्यूका विरुवा छन् । यी विरुवा लहरिँदै बढ्दै जान्छन् । यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएका छन् । लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २÷२ वर्गमिटरका जालीदार बार बनाइएको छ । आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update