Odapalika - The Fourth Estate - चौथो अंग
माटोमा 'सुन' फलाउँदै छन् पूर्वसैनिक

रामेछाप । अहिले देशमा अवैध सुन तस्करीको चर्चा छ । अवैध रूपमा सुन तस्करी गर्नेको भागाभाग छ । सरकार उनीहरूको खोजीमा छ । 

रामेछापका एक किसान भने वैध रूपमा माटोमा सुन फलाउँदै छन् । उनी आफ्नै कर्ममा रमाउँदै छन् । माटोमा सम्भावना खोज्दै छन उनी । 

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ ओख्रेनीका किसान श्याम थापा मगर पेसाले पूर्व सैनिक हो । उनलाई नपुग्दो पनि केही छैन । सेनाको जागिरको कमाई अनिनियमित आउने पेन्सनबाट घर धान्न कुनै गाह्रो छैन । तर उनी गाउँमा नै केही गरौँ, माटोमा भविष्य छ, माटोमा नै सुन फलाउन सकिन्छ भनेर कृषि कर्ममा समर्पित छन् । त्यही कर्मले उनलाई नमुना किसान बनाएको छ र राष्ट्रिय सम्मान दिलाएको छ ।    

२०६५ सालमा सेनाको जागिर छाडेपछि श्यामले थालेको कृषि कर्म अहिले ठूलो फार्मको रूपमा विकास भएको छ । त्यही फार्मले उनलाई नमुना किसान बनाएको छ । 

जागिर छाडेर काठमाडौंबाट घर फर्कँदा केही फलफूलका बिरुवा पनि लिएर घर फर्किएका श्याम लगातार त्यसैमा लागे । जसले गर्दा कोदो फल्ने बारी फलफूल बगैँचा बन्यो । 

त्यति बेला काठमाडौंका कर्मा वाङ्छु लामाको फर्मबाट उन लेकिवी, दाँते ओखर, कटुसलगायतका बिरुवा लिएर गाउँ फर्केका छन् र बारीमा लगाएका छन् । 

उनको बारीमा त्यस अघि पनि स्याउका केही बिरुवा लगाइएको थियो । उनी सेनाको जागिरमा भएकै बेला लगाइएका ती बिरुवाले राम्रो उत्पादन दिएन । 

श्यामको फलफूल बगैँचा अहिले १ सय रोपनी भन्दा बढी जमिनमा फैलिइसकेको छ । उनले भीमेश्वर फलफूल तथा नर्सरी उद्योग दर्ता गरेर व्यवसायीक रूपमा फलफूल तथा बिरुवा उत्पादन गरिरहेका छन् । 

अहिले उनको बगैँचा किवी, कटुस, ओखर, एभोकाडो हलुवाबेद, आलमन, आरु, नास्पातीका रुखले ढाकेको छ । केही बिरुवा फल्दै छन्, केही हुर्कँदै छन् । 

अहिले उहाँको बगैँचामा फलदिने ७ सय बोट किवी छन् । एउटा बोटमा ५० केजी भन्दा बढी किवी उत्पादन हुन्छ । उत्पादित किवी ३ सय रुपैँया केजीका दरले बिक्री हुन्छ । 

अहिले ७०० बोट कटुस फलदिने भएका छन् । यसै गरी १०० भन्दा बढी एभोकाडोका बोटले उत्पादन दिन लागेका छन् । जापनिज हलुवाबेद २०० बोट फल्न लागेका छन् । 

दाँते ओखर ४ सय बोटले उत्पादन दिइरहेका छन् । यस बाहेक आलमन, मैकाडोमिया नट्स, जापनिज नास्पाती, उन्नतजातको आरु, विभिन्न जातका फलफूलले उत्पादन दिइरहेका छन् । 

उनको बारीमा पाउलोनियालगायतका २ सय भन्दाबढी काठका बिरुवा पनि हुर्की छन् । 

उनको बगैँचामा किवी, हलुवाबेद, आरु, कटुस, एभोकाडोलगायतका बिरुवापनि उत्पादन हुन्छ । जसबाट उनले राम्रो आम्दानी गरेका छन् । 

फलफूल बेचेरै श्यामले वार्षिक २० लाख रुपैयाँ बढी आम्दानी गर्छन् । यस बाहेक बिरुवा बेचेर पनि राम्रो आम्दानी गरिरहेका छन् । उनले फलफूल टिप्ने र गोडमेले गर्ने सिजनबाहेक सबै काम आफैँ भ्याएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update