Odapalika - The Fourth Estate - चौथो अंग
उद्यमशील बनाउन सुर्योदय नगरपालिकाका एकल महिलालाई आर्थिक सहयोग 

काठमाडौँ । इलामको सूर्योदय नगरपालिकाले नगरभित्र गठित एकल महिला समूहलाई उद्यमशील बनाउन बिउ पुँजी उपलव्ध गराएको छ । 

नगरपालिकाको वडा नम्बर ८, ९ र १० का ५ वटा महिला समूहका ३५ जना महिलाले उद्यमशीलताका लागि प्रति समूह ३५ हजार रुपैयाँका दरले बिउ पुँजी पाएको नगरप्रम्ुख रनबहादुर राईले जानकारी दिए । 

एक महिनाअघि गठन भएका यी समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय पेसा दिएको हो ।

उनीहरुले बाख्रा र बंगुर पालन, पुष्प खेती, सागसब्जी खेती र ब्युटीपार्लर सञ्चालन गर्ने तयारी गरेका छन् । ‘एकल महिलालाई व्यवसायमा जोड्न र बचत गर्ने संस्कार विकास गर्न बीउ पुँजी दिएका छौँ । उहाँहरूको इच्छाबमोजिम उद्यमशील तालिम दिएर व्यवसायमा जोड्न बीउ पुँजीको कार्यक्रम अघि वढाएका छौँ,’ राईले भने । 

तीन वर्षपछि बीउ पुँजीका रुपमा लिइएको ३५ हजार रुपैयाँ नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रमुख राईले बताए । फिर्ता भएपछि अन्य समूहलाई यो रकम दिने नगरको तयारी छ । 

पालिकाभित्र करिब १ हजार एकल महिला छन् भने ६०० भन्दा बढी एकल महिलाको स्वास्थ्य बीमा भएको छ । नगरपालिकाको ‘एक घर एक करेसाबारी’ कार्यक्रममा समेत एकल महिलाहरुको लोभलाग्दो संलग्नता रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update