Odapalika - The Fourth Estate - चौथो अंग
ढोकामै पुगेर निःशुल्क उपचार गर्छ राप्ती नगरपालिका 

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले नगरबासीको घर घरमा पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवा दिदैँ आएको छ । 

नगरभित्र रहेका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्तलाई लक्षित गर्दै पालिकाले घर घरमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिदैँ आएको हो । स्वास्थ्य टोलीसहित घर घरमा पुग्ने पालिकाका कर्मचारीहरुले आवश्यक स्वास्थ्य सेवासँगै निःशुल्क औषधिसमेत वितरण गर्ने गरेको नगरपालिकाले जनाएको छ ।

मेयर शमशेर लामाले नगरपालिकाको उक्त सेवाबाट स्थानीयहरु खुसी भएको बताए । उनले पाालिकाका स्थानीयले घर घरमा सिंहदरवार आएको भन्दै खुसी व्यक्ति गर्ने गरेको बताए । 

हाल नगरपालिकाको वडा नम्बर २, ४ र ७ मा उक्त कार्यक्रम सञ्चालनमा भएपनि सबै वडामा पुग्ने गरेको मेयर लामाले बताए । ‘हामी सातामा १ पटक सबै टोलमा पुग्ने प्रयासमा छौँ, तर अहिले कहिले साता त कहिले १५ दिनमा पुग्ने गरेका छौँ, विस्तारै यसलाई घटाएर सातामा १ पटक प्रत्येक टोलमा पुग्ने हाम्रो योजना हो’, उनले भने । 

उनले धेरै बृद्ध तथा अशक्तहरु रहेको टोललाई प्राथमिकतामा राखेर सेवा दिइएको बताउँदै एक पटक स्वास्थ्य परीक्षणमा जाँदा ६० देखि ६५ जनाले स्वास्थ्य सेवा लिने गरेको बताए । मेयर लामाले नगरभित्र रहेका बृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको बताए । 

‘अहिले धेरै अभिभावकको सन्तति बिदेशमा हुनुहन्छ, नेपालमा बृद्ध बुबाआमा मात्रै बस्नुहुन्छ, उहाँहरु समयमै अस्पताल जान सक्नुहुन्न’, उनले भने, ‘ चुनाब जितेपछि नगरमा भन्दा जनताको घरमा जाँदा रित्तो हात नजाउँ भनेर र बृद्ध बुबाआमाको गुन तिर्न घर घरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छु ।’ 

उनले आफू नगरका सबै अभिभावकको छोरा भएको र छोराको जिम्मेवारी पूरा गर्न लागि गरेको बताए । उनले स्थानीय तहको निर्वाचन जितेर आएपछि उक्त कार्यक्रम सञ्चालन गरिएको भन्दै निरन्तरता दिने समेत बताए । पालिकाले ज्येष्ठ नागरिक तथा अशक्तलाई लक्षित गर्दै निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update