Odapalika - The Fourth Estate - चौथो अंग
फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले सामाजिक संजाल फेसबुकमा ‘खबरदारी गरौं’ भनेर स्ट्याटस लेख्नेलाई ७ दिनभित्र प्रमाणसहित उपस्थित हुन पत्र पठाएको छ ।

सो नगरपालिकाबाट भएको शिक्षक सरुवा ‘लेनदेन केन्द्रीत भएको’ भन्दै चेतनाथ गजुरेल नाम गरेका एक व्यक्तिले उनको फेसबुक पेजमा स्ट्याटस लेखेको नगरपालिकाको भनाइ छ । उनले लेखेका विषयमा थप जानकारी आवश्यक परेकोले पत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।

‘शिक्षक सरुवामा लेनदेन भएको भनेर उहाँ (चेतनाथ गजुरेल) ले फेसबुकमा लेख्नुभएको रहेछ । शिक्षक शाखाका साथीहरुले कि हाम्रो गल्ती देखाउनु पर्यो, होइन भने यस्तो लेख्नेलाई कारबाही हुनुपर्यो भनेर मेयरसाबसँग गुनासो गर्नुभएछ । मलाई पनि कर्मचारी साथीहरुले भन्नुभएको थियो । उहाँसँग थप केही प्रमाण पनि हुन सक्छ, कर्मचारीले इमान्दारपूर्वक काम गर्दा पनि बीचमा कसैले बद्मासी गरेको हुन सक्छ । यही भएर उहाँसँग केही प्रमाण भए लिएर आउनु भनेर पत्र पठाइएको हो,’ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले वडापालिकासँग भने ।

गजुरेललाई पठाइएको पत्रमा प्रमुख प्रकाशकीय अधिकृत पाण्डेकै हस्ताक्षर छ ।

belkotgadhi-letter1712214391.jpg

पत्रमा ‘तपाईंले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको ‘बेल्कोटगढी शिक्षक सरुवाको निश्पक्ष छानविन होस । आजसम्म भएको र लगत्तै हुन लागेको सरुवा लेनदेन केन्द्रीत छ । खबरदारी गरौं ।’ भन्ने स्ट्याटसप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोले पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र प्रमाणसहित उपस्थित भई दिनु हुन अनुरोध छ । अन्यथा प्रचलित कानुन बमोजिक भइजाने व्यहोरा अवगत गराइन्छ ।’ भन्ने उल्लेख छ । नगरपालिकाले सो पत्र चैत २१ गते जारी गरेको पत्रको मितिमा देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update