Odapalika - The Fourth Estate - चौथो अंग
पालुङटार नगरपालिकाले दियो १४ सय जनालाई निःशुल्क आयुर्वेद सेवा 

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाले १० वटै वडामा निःशुल्क आयुर्वेद शिविर सम्पन्न गरेको छ । 

आयुर्वेद उपचार सेवा पद्दतिलाई नगरपालिकाको प्रत्येक नागरिकको घर घरमा पुर्याउने उद्देश्यको साथ नगरपालिकाले उक्त शिविर सञ्चालन गरेको हो । 

आयुर्वेद शाखाद्धारा सञ्चालित उक्त शिविरमा १ हजार ४०० जनाभन्दा बढीले सेवा लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृृत गौतम भण्डारीले जानकारी दिए । 

उनका अनुसार शिविरमा आउने अधिकांश नागरिकमा बाथरोग रहेको पाइएको थियो । यस्तै, अम्लपित्त, उदर रोग, पाइल्स, स्त्री रोग, उच्च रक्तचाप, त्वकविकार, स्वास विकार जस्ता रोगहरू रहेको भेटिएको थियो । 

पालिकाले उक्त रोगका विरामीहरुलाई निःशुल्क औषधी तथा परामर्श सेवा समेत दिएको थियो । नगरपालिकाको तथ्यांक अनुसार उक्त शिविरमा नगरपालिका वडा नम्बर १ खोप्लाङका १४६ जनाले सेवा लिएका थिए । 

जसमा १०१ महिला र ४५ जना पुरुष थिए । यस्तै,वडा नं २ मा जम्मा १४१ जनामा ७५ महिला ६६ पुरुष, वडा नं ३ मा १३६ जनामा ९४ महिला, ४२ पुरुष, वडा नं ६ मा २३५ जनामा १६४ महिला, ९१ पुरुष, वडा नं ७ को खत्रीटार शहरी स्वास्थ्य केन्द्रमा १५२ जनामा ११४ महिला, ३८ पुरुष, वडा नं ८ को धुवाँकोटमा ३१५ जनामा २११ महिला, १०४ पुरुषले सेवा लिएका थिए । 

यस्तै, वडा न ९ पिपलटारिमा १३७ जनामा ९८ महिला, ३९ पुरुष, वडानं १० मा १४९ जनामा ९१ महिला, ५८ जना पुरुष गरी सबै वडाको (४ र ५ बाहेक) कुल जम्मा १ हजार ४११ जनालाई सेवा प्रदान गरिरहेको थियो । 

यस आयुर्वेद स्वास्थ्य शाखाबाट सर्ने, नसर्ने रोगहरुको रोकथाम तथा न्युनिकरणका लागि वडा नम्बर २, ७, ९ मा संचालन गर्दै आएको गाउँघर क्लिनिकबाट ३१७ जनाले विभिन्न रोगको उपचार लिएको नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update