Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचारको अखडा बन्दैछन् नियामक निकाय र सार्वजनिक संस्थान 

काठमाडौँ । पछिल्लो समय नियामक निकाय र सरकार मातहत रहेका संस्थानमा भ्रष्टाचारको जरो मौलाउँदै गएको देखिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २ वटा वेग्लावेग्लै अनुसन्धानले नियामक निकाय र संस्थानका पदाधिकारीदेखि कर्मचारीसम्मले राज्यकोषको अर्बौँ रकम अनियमितता गरेको देखाएको छ । 

यो प्रकरणमा सरकारको नियामक निकाय नेपाल दूरसञ्चार प्राकिरण्का जिम्मेवार पदाधिकारीसमेत मुछिएका छन् । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ चैतमै भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ । 

आयोगले बिहीबार वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित नेपाल वायुसेवा निगम आवद्ध ३२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

यो प्रकरणमा निगमका वहालवाला र पूर्व कर्मचारीमात्र २१ जना जोडिएका छन् । त्यसबाहेक विभागीय मन्त्री, सचिव र महानिर्देशकसमेत ३ जना पनि यो प्रकरणमा जोडिए । खरिद प्रकरणमा भ्रष्टाचार गर्नेमा ८ जना विदेशी नागरिक जोडिएका छन् ।

जसमा हाल निगममा कार्यरत ८ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्धा लागेको छ । जसमा निगमका महाप्रबन्धक जनकराज कालाखेती, बरिष्ठ क्यापटेन सुवास रिजाल, श्रवण रिजाल, रविन्द्र कुमार शेरचन (आरके शेरचन), रविन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, उमेश पौडेल र बृहतमान तुलाधर माथि भ्रष्टाचार मुद्धा दायर भएको छ । 

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने समेत मुछिएका छन् । 

अख्तियारले बाइडबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, तत्कालीन पर्यटन सचिव शंकरप्रसाद अधिकारी, वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार माथि भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

यस्तै, निगम सञ्चालक समितिका तत्कालीन सदस्य तथा भन्सार विभागका महानिर्देशक (पूर्व सचिव) शिशिरकुमार ढुंगाना, निगम सञ्चालक समितिका तत्कालीन सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी, निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, गणेशबहादुर चन्द, निर्देशक कर्णबहादुर थापा र तत्कालीन निर्देशक रामहरि शर्मा सेढाइँ विरुद्ध समेत मुद्धा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ चैतमा नेपाल दूरसञ्चार प्राधिकरणका १६ जना बहालवाला कर्मचारीसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्याे । 

नेपाल दूरसञ्चार प्राधिकरणका कुल ७२ जना कर्मचारीमध्ये ३ जना पूर्वकर्मचारीसहित १९ जना र दुई संस्थाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । 

आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) खरिद प्रकरणमा ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो । 

अख्तियारले प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल, सहायक उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, निर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक संदिप अधिकारी, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल र सहायक निर्देशक निराजन कोइराला विरुद्ध मुद्दा दर्ता गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update