Odapalika - The Fourth Estate - चौथो अंग
कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा

ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई लालपुर्जाको निस्सा वितरण गरेको छ । 

वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा निस्सा वितरण गरिएको हो । 

राष्ट्रिय भूमि आयोगका ललितपुर जिल्ला संयोजक श्रीगोविन्द महर्जनले भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या नरहेको बताए । सबै सुकुम्बासीलाई प्रक्रिया अनुसार निस्सा वितरण गरिएको उनको भनाइ छ । 

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्रका सबै सुकुम्वासी, भूमिहीनलाई जग्गा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरसँग समन्वय गरेर बाँकी भूमिहीनलाइृ पनि चाँडै लालपुर्जा वितरण गरिने बताए । 

lalpurja-laltipur21691463894.jpg

lalpurja-laltipur11691463891.jpg

गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरेले निस्सा वितरणसँगै लामो समयदेखि सुकुम्बासी भएर रहेकाको समस्या समाधान हुने बताए  । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार अब गोदावरी नगरपालिकाका बाँकी १२ वडा र महाँकाल गाउँपालिकाका सुकुम्बासी र भूमिहीनलाई निस्सा वितरण गर्ने गरी तयारी भइरहेको छ । आयोग जिल्ला समितिले यसअघि ३१ जेठमा बागमती गाउँपालिकाका ९४ परिवार, असार ३१ गते गोदावरी–७ देवीचौरका १४ परिवार र साउन १२ गते गोदावरी–१२ का पाँच परिवारलाई निस्सा वितरण गरिसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update