Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम 

काठमाडौँ । पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । 

महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा १९ देखि २२ चैतसम्म सञ्चालन गरिएको तालिममा  महानगरका जनप्रतिनिधि र कर्मचारी सहभागी थिए । 

तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद्का बेला प्राथमिक उपचार महत्त्वपूर्ण हुनुभएकाले यसका लागि आवश्यक ज्ञान हासिल गर्नुपर्ने बताए ।

उनले कुनै पनि प्रकारको विपदमा उद्धारकर्ताहरूलाई सुरक्षित सेवा उपलब्धता सुनिश्चित गर्न आवश्यक सिप विकास तथा उपचार विधिका बारेमा सचेतनाका लागि तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गरे । 

पोखरा महानगरपालिका विपद् न्यूनीकरण सहित विपद्का बेला आवश्यक जनशक्ति तयारका सन्दर्भमा प्रतिबद्ध रहेको उनले बताए ।

हाल तत्काल उपलब्ध हुने गरी नगर प्रहरी र दमकल सेवालाई एकै स्थानबाट सञ्चालन गरिएको उनले जानकारी दिए । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी महानगर स्तरीय योजनाहरूको कार्यान्वयन गर्दै विपद् व्यवस्थापन सम्बन्धी कार्यमा गैरसरकारी संस्था, निजी क्षेत्र एवं स्थानीय समुदायलाई समेत संलग्न गराउन महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ ।

विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार र विपद् प्रभावित बासिन्दाको जीउधनको सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यका लागि महानगरपालिकामा विपद् प्रतिकार्य टिम तयार गरिएको प्रमुख आचार्यले बताए ।

तालिमको समापनमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले रेडक्रसले विपद् प्रतिकार्यमा समर्पित जनशक्ति तयार तथा आवश्यक उद्धार सामाग्री सहित प्राथमिक उपचारका क्षेत्रमा काम गरिरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update