Odapalika - The Fourth Estate - चौथो अंग
महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु 

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम सुरु गरेको हो । 

शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित हुनेछन् । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ । महानगरपालिकाको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मार्फत यो कार्यक्रम सञ्चालनमा आएको हो । 

कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यस बर्ष शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिइन् ।

। यसमध्ये पुस्तकरहित शुक्रबार, शिक्षामा सिप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई करिब २८ करोड रुपैयाँ दिइएको छ । यी कार्यक्रमको साझेदार विश्वविद्यालयलाई २ करोड ९५ लाख रुपैयाँ बजेट महानगरले छुट्याएको छ । 

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र शिक्षकहरुमा गरिएको यो लगानी सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र, सिप र आचरणबाट फिर्ता हुने अपेक्षा गरेका छौँ,’ उपप्रमुख डंगोलले भनिन् । 

स्नातक तह उत्तीर्ण शिक्षकले तालिमबाट २७ क्रेडिट पाएपछि पोष्ट ग्राजुएट डिप्लोमा र कुनै विषयमा स्नातकोत्तर उत्तीर्णलाई मास्टर इन एजुकेसन (एमएड) को प्रमाणपत्र प्रदान गरिनेछ । 

कार्यक्रममा विश्वविद्यालयको स्कूल अफ एजुकेसनका डीन प्रा. बालचन्द्र लुइटेलले भने, ‘शिक्षकहरुबाट पीएचडी सम्म पुग्ने अवसर खोज्नुभएको छ । हामी पनि चाहन्छौँ, महानगरपालिकासँगको सहकार्यमा यसप्रकारको कार्यक्रम सञ्चालन गर्न सकियोस् ।’ 

तालिमको पहिलो चरणमा भाग लिएका ३४ जनालाई कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । 

तालिममा प्राप्त गरेका अनुभव प्रस्तुत गर्दै मङ्गलादेवी माविकी शिक्षक मीना श्रेष्ठले भनिन्, ‘पहिलो हामी विज्ञान छुट्टै पढाउँथ्यौँ । गणित छुट्टै पढाउँथ्यौँ । तालिमपछि थाहा भयो कि विज्ञान र गणितका कतिपय कक्षाहरु सह शिक्षण हुन सक्ने रहेछन् । यसमा शिक्षक सहकार्य चाहिने रहेछ । जस्तो कि, हवइ जहाज बिज्ञान, गणित र कला मिश्रित साधन हो । यसरी आपसमा जोडिएका विषयलाई अहिलेदेखि नै कक्षामा जोडेरै पढाउन सकिने रहेछ ।’

दोस्रो चरणमा ४६ वटा विद्यालयका शिक्षकहरुका लागि चैत २५, २६ र २७ गतेदेखि तालिम चल्नेछ । यसका लागि ३५ वटा समूह बनाइएको छ । यस तालिममा समावेशीतर्फ निर्मल बाल बिकास विद्यालयका ८ जना, सुस्त मनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोतका ६ जना र बालपीठ आधारभूत विद्यालयका ४ जना शिक्षकलाई तालिममा सहभागी गराइँदैछ । 

तेस्रो चरणमा २०८१ बैशाख २ गतेदेखि ६ गतेसम्म र ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछन् । यसमा ४५ वटा विद्यालयका शिक्षकहरुलाई सहभागी गराइनेछ । महानगरपालिकाभित्रका ९० वटा सामुदायिक विद्यालयमा करिब २ हजार शिक्षक कार्यरत छन् । 

१६ घण्टाको तालिमबाट १ क्रेडिट 

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाकाअनुसार १६ घण्टाको तालिम सम्पन्न गरिसकेपछि १ क्रेडिट प्राप्त हुनेछ । ‘१ दिनमा ४ घण्टाका दरले ४ दिनमा १६ घण्टाको कक्षा हुनेछ । यसमध्ये ३ दिन कक्षामा उपस्थित हुनुपर्नेछ । १ दिन अनलाइनमा आधारित कक्षा हुनेछ ।’ झा भन्छन्, ‘शिक्षकहरुलाई प्रविधिमा अभ्यस्त गराउन अनलाइन कक्षाको व्यवस्था गरिएको हो ।’

सर्टिफिकेट प्राप्त गर्नका लागि तोकिएको घण्टा (नियमानुसार कक्षा वा अनलाइन) मा कक्षामा उपस्थिति हुनुपर्छ । असाइनमेन्ट (कक्षा कार्य) बुझाउनु पर्छ । परीक्षामा सहभागी हुनुपर्छ । परीक्षामा ३.७ देखि ४ सम्मको जीपीए ल्याउनेलाई ‘ए’, ३.२५ देखि ३.७ सम्म जीपीए ल्याउनेलाई ‘ए माइनस’, ३ देखि ३.२५ सम्म जीपीए ल्याउनेलाई ‘बी प्लस’ र ३ भन्दा तल जीपीए ल्याउनेलाई ‘वी’ ग्रेड दिइनेछ । 

१६ घण्टाको तालिम आधारभूत हो । यसपछि अर्ली चाइल्ड डिपलपमेन्ट (इसीडी), टेक्निकल, भोकेसनल एजुकेसन टे«निङ् (टीभीइटी), डिजिटल पेडागोजी, चाइल्ड साइकोलोजी र करिअर काउन्सिलिङ्, स्टुडेन्ट लर्निङ् आउटकम जस्ता विषय स्नातकोत्तर तहसम्मको उपाधि लिन सकिन्छ । 

काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन, टिचर कलेज कार्यक्रमका संयोजक पार्वती ढुङ्गाना (पिएचडी) का अनुसार टिचर कलेज कार्यक्रमले शिक्षकको क्षमता विकास र वृत्ति विकास गराउँछ । शिक्षण विधिलाई नविनतम प्रविधिमा आधारित एकीकृत बनाउँछ । सिकाइ प्रक्रियाको उत्थान गरेर नतिजा हासिल गर्ने लक्ष्य हासिल गर्न सहयोग गर्छ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update