Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त 

काठमाडौँ । कांग्रेसको ध्यानाकर्षणबीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको बताएका छन् । 

आइतबार बिहान गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् ।

कांग्रेसले सभामुखको गण्ना गरेर मुख्यमन्त्रीमा दाबी गर्नु संविधान र सर्वोच्च अदालतको फैसलाविपरित हुने भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । 

केन्द्रमा सत्ता समीकरण फेरिएपछि विकासित राजनीतिक घटनाक्रमसंगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले दाबी पेश गर्ने समय दिएका थिए । 

एमाले, माओवादी र १ जना स्वतन्त्र सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।  एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद (दिपक मनाङे)छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update