Odapalika - The Fourth Estate - चौथो अंग
पानीकै कारण अब बस्ती छाड्न पर्दैन फलेवास र जलजलाका स्थानीयले 

काठमाडौँ । खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो । 

आकासे पानी घैँटामा संकलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ । पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । 

बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पु¥याइएको छ ।  

२०० परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्यांकीमा संकलन गरी एक घर एक धारामार्फत वितरण गरिने छ । 

४ करोड रुपैयाँको लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापा बताउँछन् । 

डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको भन्दै स्थानीयवासी खुसी भएका छन् । बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्की बताउँछन् । 

जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पु¥याइएको छ । सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो । 

जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले लामो समयदेखि नै प्रयास गरे पनि बल्ल पानी खुवाउन सफल भएको बताए । लुप्राङ गाउँबाट करिब ४ किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो । पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना छ ।

केही वर्षअघिसम्म लुप्राङमा करिब १३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरिसकेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update