Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध 

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । 

सोमबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

२ स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ । विकास र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

कर्णालीको सबैभन्दा विकट मानिएको पचालझरना गाउँपालिका र सुगम जिल्ला चितवनको भरतपुरबीच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालको भनाइ छ । 

पचालझरना गाउँपालिका र भरतपुरबीच आर्थिक, साँस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्यव गरी अगाडि बढ्ने प्रमुख दाहालको भनाइ छ ।

कार्यक्रममा बोल्दै पचालझरना गाँउपालिकाका अध्यक्ष देवराज शाहीले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाँउपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए ।

अध्यक्ष शाहीले गाँउपालिकालाई आउने समानिकरण बजेट न्युन रहेकाले आवश्यकता अनुसार विकास गर्न सम्भव नरहेको भन्दै भरतपुर महानगरसँगको भगिनी सम्बन्धपछि गाँउपालिकाले विकास र समृद्धिमा थप मद्दत पुग्ने बताए ।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र पचालझरना गाँउपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गरिने उल्लेख छ ।  

दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजहरुलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने, उद्यमशीलतामा बृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्धमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रबद्र्धन र विकास गर्नेलगायतका विषय समझदारी पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पचालझरना गाँउपालिकाका उपाध्यक्ष अल्किना बमलगायतको उपस्थिति थियो । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update