Odapalika - The Fourth Estate - चौथो अंग
स्वरोजगार बन्न बागलुङ नगरपालिकाले दिन्छ अनुदान, यसरी लिन सकिन्छ लाभ

काठमाडौँ । उद्यम व्यवसाय गर्ने सोच बनाउनु भएको छ ? तर, पैसा छैन । घरजग्गा धितो नभइ बैंकले ऋण दिदैन भन्ने दिक्दारीमा हुनुहुन्छ भने तपाईंको समस्या अब समस्या रहेन ।

तपाईंसँग व्यवसाय गर्ने योजना र आइडिया छ भने घरजग्गा धितो नभएको कारण अब रोकिनु पर्दैन । तर, यसको लागि तपाई बागलुङ नगरपालिकाको बासिन्दा भने हुनुपर्छ ।

जसका लागि बागलुङ नगरपालिकाले ‘नगर प्रमुख स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त कार्यक्रममा आवद्ध हुन १५ दिनको समय तोकेको छ । 

नगरप्रमुख स्वरोजगार  कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० बमोजिम बागलुङ नगरपालिका क्षेत्रभित्र पेशा व्यवसाय सञ्चालन गरी सो पेशा व्यवसायलाई प्रवर्धन गर्न चाहेका वा नगरपालिकाले दिएको सीप विकास सम्बन्धी तालिम लिएर पेशा व्यवसाय सञ्चालन गर्न चाहेकाहरुले आवेदन दिन सक्नेछन् । 

यस्तै, कुनै तालिम नलिए पनि उदाहरणीय रुपमा पेशा व्यवसाय सुरु गरी सो व्यवसायलाई प्रवद्र्धन गर्न स्वरोजगार सुविधा (नगद अनुदान तथा प्रविधि अनुदान) लिन इच्छुक भएका व्यक्तिहरुले तोकिएको विवरणका साथमा समयमै निवेदन पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ । 

इच्छुक उद्योगीहरुले निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यवसाय गरेको भएमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, सीप सम्बन्धी तालिम प्राप्त गरेको भए तालिमको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गर्नुपर्ने हुन्छ । 

कति पाइन्छ नगद रकम

पालिकाले चालू आर्थिक वर्षबाट सुरु गर्न लागेको नगर प्रमुख स्वरोजगार कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन् । 

उनका अनुसार कार्यविधि अनुसार न्यून व्याजदरमा १ देखि २ लाख रुपैयाँसम्म पालिकाले दिनेछ । 

पालिकाले चालू आर्थिक वर्षमा ४० जना व्यवसायीलाई ४ प्रतिशत ब्याजदरमा २ लाख रुपैयाँसम्म नगद उपलब्ध गराउने उनले बताए । 

उनले चालू आर्थिक वर्ष नगरपालिकाले स्रोतमा उक्त कार्यक्रम सञ्चालन भए पनि आगामी आर्थिक वर्षबाट बैंक तथा वित्तीय संस्थाबाट ऋण उपलब्ध गराउने तयारी भइरहेकोे बताए । 

‘हामीले बैंकमा १ करोड रुपैयाँ राख्याँै भने बैंकले ३ करोडसम्म ऋण प्रवाह गर्ने रहेछ । आगामी आर्थिक वर्षबाट हामीले व्यवस्थित रुपमा यहाँका युवालाई गाउँमै रोक्न पालिकाको पहलमा ऋण उपलब्ध गराउने तयारीमा छौँ’, उनले भने, बाहिरका व्यक्तिहरु हाम्रो पालिकामा आएर स्वरोजगार बन्नु भएको छ । यहाँका युवाहरु बाहिर जाने प्रवृत्ति रोक्न हामीले पालिकाले नै ब्याज तिर्नेगरी ऋण उपलब्ध गराउने योजना बनाएका हौँ ।’

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update